Dhulikhel Eco Banner new

क्रस होल्डिङ घटाउन बीमा कम्पनीलाई निर्देशन

5.21K
shares

काठमाडौं, ३ असार । बीमा समितिले क्रस होल्डिङ घटाउन निर्देशन दिएको छ । जीवन र निर्जीवन बीमा कम्पनीहरुलाई क्रस होलिडङ घटाउनका लागि निर्देशन दिएको हो ।

समितिका अनुसार अहिले जीवन र निर्जीवन बीमा कम्पनी गरी ९ वटा कम्पनीमा क्रस होल्डिङको समस्या रहेको छ । त्यसमा ६ वटा जीवन बीमा र ३ वटा निर्जीवन बीमा कम्पनी रहेका छन् ।

क्रस होल्डिङ कायम रहेका बीमा कम्पनीहरुलाई त्यस्तो होल्डिङ हटाउनका लागि निर्देशन दिइएका बीमा समितिका प्रवक्ता राजु रमण पौडेलले जानकारी दिए । ‘कम्पनीहरुलाई क्रस होल्डिङ हटाउन भनेर पत्र पठाएका छौँ, त्यसका लागि मर्जर नै उपयुक्त हो,’ उनले भने ।

समितिले क्रस होल्डिङ घटाउन निर्देशन दिएका जीवन बीमा कम्पनीहरुमा नेपाल लाइफ, सूर्या लाइफ, ज्योति लाइफ, आइएमई लाइफ, एलआइसी नेपाल र रिलायबल नेपाल लाइफ छन् । यस्तै, निर्जीवन बीमा कम्पनीहरुमा नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्सलाई क्रस होल्डिङको सीमा हटाउन निर्देशन दिएको हो ।

एकै व्यक्ति वा संस्थाको दुई ठाउँमा सेयर भएमा त्यो क्रस होल्डिङ हो । बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ मा एउटै लगानीकर्ताले विभिन्न कम्पनीमा लगानी गर्न नपाउने व्यवस्था छ । समितिद्वारा जारी उक्त निर्देशिकाअनुसार एउटा लगानीकर्ता वा एकाघरका सदस्यको नाममा १५ प्रतिशतभन्दाबढी लगानी गर्न पाइदैन ।

यस्तै, एउटा कम्पनीमा १५ प्रतिशत लगानी गरेका लगानीकर्ताले उस्तै प्रकृतिको अर्को बीमा कम्पनीमा एक प्रतिशतभन्दा बढी लगानी गर्न नपाईने व्यवस्था निर्देशिकामा गरिएको छ । बीमा कम्पनीलाई क्रस होल्डिङको सीमा घटाउनका लागि भनिएको र त्यसका लागि मर्जरमा जानु उपयुक्त हुने बीमा समितका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन् । ‘निर्देशिकाल नै यस्तो गर्न नपाई भनेकाले यो हटाउनै पर्छ तर मर्जरमा जाँदा कम्पनीहरुलाई सहज हुने देखिन्छ,’ अध्यक्ष सिलवाल भने ।

पछिल्लो समय बीमा समितिले पुँजी वृद्धिका लागि बीमा कम्पनीहरुलाई आग्रह गरेको छ । त्यसका लागि मर्जरलाई पहिलो प्राथमिकतामा राखेको छ ।