भारतको महाराष्ट्रमा गुडिरहेको बसमा आगलागी,२५ जनाको मृत्यु
वि.सं.२०८० असार १६ शनिवार १४:४७
shares

काठमाडौं, १६ असार । भारत, महाराष्ट्रको बुलढाणामा गुडिरहेको एक निजी बसमा आगलागी हँदा २५ जनाको जलेर मृत्यु भएको छ । दुर्घटना शनिबार बिहान महाराष्ट्रको बुलढाणा स्थित समृद्धि एक्सप्रेस–वे मा भएको हो ।
बसमा सवार ३३ यात्रु मध्ये २५ जनाको मृत्यु भएको प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)ले लेखेको छ । बस नागपुरबाट पुणेतर्फ आइरहेको बेला टायर पड्किएपछि चालकको नियन्त्रण बाहिर गई एक खम्बामा ठोकिएको थियो । त्यसपछि पुनः डिभाइडरमा ठोकिन पुग्दा डिजेल ट्याङ्की फुटेर बसमा आगो लागेको बुलढाणा प्रहरीले जानकारी दिएको भारतीय सञ्चार माध्यमले लेखेका छन् । दुर्घटनामा घाईते यात्रुको बुलढाणा सिभिल अस्पतालमा उपचारका भैरहेको छ ।
बसमा सवार केही यात्रुले भने बसको झ्यालको सिसा फुटाएर ज्यान बचाउन सफल भएका छन् । मृतकको पहिचान भइनसकेको खबर भारतीय सञ्चार माध्यमले दिएका छन् । त्यस्तै, महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवारजनलाई पाँचपाँच लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेका छन् ।

















