GBIME

‘व्यवसायीले लगानी गरेर नाफा कमाउने हो, सिरानीमुखि पैसा राख्ने व्यवसायी नै होइन’

1.8K
shares

काठमाडौं, २५ कात्तिक । पछिल्लो समय बैंकले बढाएको ब्याजदरका कारण व्यवसायीहरु आन्दोलित बनेका छन् । व्यवसायीहरुले बढेको ब्याजदरका कारण व्यवसाय गर्ने वातावरण नै नरहेको बताउँदै आएका छन् । बैंकमा ब्याजदर बढाउँदा पनि लगानीयोग्य रकमको अभाव भइरहेको छ । अर्को तर्फ नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि चुनाव आउन पनि केही महिना मात्रै बाँकी रहेको छ । यी नै विषयमा महासंघका केन्द्रीय सदस्य तथा स्वास्थ्य तथा सिप विकास समितिका सह–सभापति भक्त बहादुर हमालसँग केटिएम भ्वाइसले गरेको कुराकानीको सम्पादित अंश :

पछिल्लो सयम निजी क्षेत्रको अवस्था कस्तो छ ?

निजि क्षेत्र पछिल्लो समय निकै समस्यामा रहेको छ । म व्यवसायी भएको २७–२८ वर्षको अवधिमा यस्तो अवस्थाको सामना गर्नु परेको थिएन् । अहिले अवस्था जटिल रहेको छ । कोरोना, भुकम्प, नाकाबन्दी लगायतका समस्याहरु भोग्नु पर्‍यो ? अहिले त्यो भन्दा पनि अहिलेको अवस्था ठूलो हो ?
अहिलेको अवस्था ठूलो हो । कोभिडको समयमा यसलाई कसरी जित्ने भन्नेमा बढी ध्यान दिइएको थियो । अझ हामी त मेडिकल क्षेत्रमा नै काम गर्छौँ । रसायन तथा आपूर्ती संघ भन्ने संस्था छ । त्यो संस्थाको त्यतिबेलाको मुख्य जिम्मेवारी कोभिडलाई कसरी नियन्त्रण गर्न सकिन्छ र कसरी अवस्था सहज बनाउने भन्ने थियो ।

थोरै व्यक्ति प्रभावित भएर धेरै सामान आपूर्ती होस् भन्ने थियो । त्यतिखेर अहिलेको जस्तो आर्थिक अवस्था नराम्रो पनि थिएन् । तर अहिलेको अवस्था निकै फरक छ । अहिले हामी आर्थिक रुपमा नै संकटको अवस्थामा रहेका छौँ । अर्थतन्त्र चलायमान हुन नसक्ने बित्तिकै सबै क्षेत्रलाई यसले प्रभाव पार्छ ।

ब्याजदरकै कारण सडकमा आउनु पर्ने अवस्था कसरी सिर्जना भयो ? के कारणले सडकमा आउनु पर्ने अवस्था आयो ?

हामीले भन्दै आएको सरकार पनि एउटा साझेदार हो व्यवसायको । सरकारले बिना लगानी २५ प्रतिशतको दाबी गरिरहेको अवस्था हो । हामीले २५ प्रतिशत कर तिर्छौँ भने त उसले बिना लगानीमा फाइदा लिइरहेको अवस्था छ । तर यस्तो अवस्था हुँदा हुँदै पनि सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोरण फरक भयो ।

हिजोका दिनम ब्याजदर ठिक थियो । ७–८ प्रतिशतमा काम भइरहेको थियो । तर अहिले त्यसको दोब्बर भएको अवस्था हो । अप्ठ्यारो पर्दा व्यवसायीलाई नहेर्ने तर कर मात्रै उठाइराख्ने जिम्मेवारी त होइन होला सरकारको । अप्ठ्यारो पर्दा सरकारले पनि व्यवसायीलाई सहयोग गर्नु पर्‍यो ।

व्यवसाय जोगाउन सकेको खण्डमा मात्रै कर उठ्ने हो । त्यसैले राज्यले पनि अप्ठ्यारो अवस्थामा सहयोग गर्नु पर्ने हुन्छ । तर यो किन नबुझेको हामीले बारम्बार यस विषयमा आवाज उठाइरहेका छौँ । महासंघको तर्फबाट पनि कुराहरु राख्दै आएका छौँ तर सुनिएको अवस्था छैन् । जसका कारण अहिले व्यवसायीहरु सडकमै आउनु पर्ने बाध्यता भयो ।

व्यवसायीका लागि सरकारले यस्तो गरिदियो भने सहज हुन्छ भन्ने केही छ ?

सरकारले त्यति धेरै ठूलो केही गर्नु पर्ने अवस्था छैन् । बढेको ब्याजदरलाई नियन्त्रण गरिदिनु पर्‍यो ।

ब्याजदर निर्धारण गर्न बजारलाई छोडिदिनु पर्ने होला नी ? कि सरकारको हस्तक्षप चाहियो भन्न खोज्नु भएको हो ?

पक्कै पनि बजारमा छोडिदिने पर्ने हो । बजारमा छोड्दा पनि राष्ट्र बैंकको निर्देशन हुनु भएन नि त । अहिले प्रष्ट रुपमा के देखिएको छ भने राष्ट्र बैंकले निजी बैंकहरुलाई यो रेटमा बचतको पैसा संकलन गर भन्ने निर्देशन छ । यस्तो हुँदा उनीहरुको कष्ट अफ फण्ड बढ्यो । कष्ट बढी भए पछि उनीहरुले बढी ब्याज त लिनुपर्‍यो ।

त्यसैले सरकारले यो कुरालाई स्वतन्त्र छोडिदिनुपर्‍यो नि त । त्यो त छोडिएन अहिलेको विरोध त्यसैका लागि हो ।

अहिलेको अवस्था आउनुको कारण भनेको पैसाको अभाव हो ? पैसाको अभाव के कारणले भयो होला ? व्यवसायीहरुले नै पैसा सिरानीमुनि राखेको छन् भन्ने गरिएको छ । यसमा तपाईको धारणा के छ ?

यो हावादारी कुरा हो । व्यवसायीले, व्यापारिले सिरानीमुनि पैसा राखेर किन बस्छ । व्यवसायीले जति लिगानी गर्‍यो त्यति फाइदा हुने हो नि । पैसा सिरानीमुनि राखेर बस्ने भनेको त उ व्यवसायी नै होइन् ।

राजनीति कर्मीहरु बसेहोलान त्यो हामीलाई जानकारी भएन् । त्यो हाम्रो सरोकारको विषय पनि होइन् । सरासर रुपमाभन्दा व्यवसायीले सिरानीमुनि पैसा राखेर बस्दैनन् । यो सरासर गलत कुरा हो । पैसाको आपूर्ती कम छ भन्नुको अर्थ बिना योजना खर्च भयो कि भन्ने हो ।

यो कसरी एक्कासी कम हुन आयो हामीलाई जानकारी भएन् । व्यवसायीले लगानी गर्ने हो यो कसरी भयो भन्ने विषयमा सरकारले खोज्नु पर्ने विषय हो ।

चुनावको कारण व्यवसायीलाई कस्तो असर पर्छ ?

चुनावले असर नै गर्दैन भन्ने त होइन । सामान्य असर त पर्छ । त्यस माथि यो नियमित प्रक्रिया पनि हो । हरेका ५ वर्षमा हुने नियमित प्रक्रियाका रुपमा यसलाई लिएको छु । केही मात्रामा समस्या भए पनि चुनावकै कारण समग्र अर्थतन्त्रलाई नै असर गर्ने भन्ने हुँदैन । यो योजना अनुसार नै हुने कुरा हो । सरकारले योजना अनुसार बजेट विनियोजन भइरहेकै हुन्छ ।

चुनावपछि नेपालको अर्थतन्त्र कस्तो होला ?

चुनावपछि राम्रो बुझ्नेहरु आउन भन्ने चाहाना हो । युवा तथा व्यवसायीहरु नै चुनावको मैदानमा होमिएको अवस्था छ । उनीहरुलाई मेरो शुभकामना छ । यति भन्दै गर्दा व्यवसाय बुझेको व्यक्ति आउन सकेको खण्डमा अर्थतन्त्रमा सकारात्मक दिसामा जान्छ । र जानु पनि पर्छ, यसको विकल्प छैन् ।

अर्थतन्त्र सकारात्मक बाटोमा जान सकेन भने हामी सबैका लागि यो दुर्भाग्यपूर्ण हुन्छ । यो व्यवसायीको मात्रै नभएर राजनीति दल सहित सबै नेपालीका लागि दुर्भाग्यको कुरा हुन जान्छ । यसका लागि सबै सचेत भएर लाग्नु पर्ने अवस्था देखिन्छ ।

नेपाल उद्योग वाणिज्य महासंघ बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था अनुसार चन्द्र प्रसाद ढकाल अध्यक्ष बन्दै हुनुहुन्छ । अरु पदमा चुनाव हुँदै छ ? तपाईको तयारी र आगामी चुनावको चहलपहल कस्तो छ ?

अहिले संघीय चुनाव मुख्य कुरा हो । अहिले महासंघको चुनाव सुरु भइसकेको अवस्था त छैन् । आम निर्वाचनपछि महासंघको निर्वाचनको चर्चा पनि सुरु हुन्छ । महासंघको चुनाव आउनका लागि ४–५ महिना बाँकी रहन्छ । यसलाई सफल पार्नका लागि पनि सबै लाग्नु पर्नेहुन्छ ।

चुनाव भनेपछि सबैले आ–आफ्नो तयार पनि गर्ने कुरा हुन्छ । बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । जसले गर्दा बरिष्ठ उपाध्यमा नै बढी प्रतिप्रर्धा हुने देखिन्छ । राजनीतिमा बुझेका व्यक्ति आउनु पर्छ भनेजस्तै महासंघको नेतृत्व पनि यो क्षेत्रलाई बुझेको नै आउनु पर्छ । म आउनु र नआउनु फरक कुरा हो तर व्यवसाय बुझेको व्यक्ति आउनु पर्ने आजको अवश्यकता हो ।

यहाँको बिचारमा महासंघको अबको नेतृत्व कस्तो हुनु पर्छ ?

७७ वटै जिल्लाका व्यवसायीको समस्या समाधान गर्न सक्ने नेतृत्व आउनु पर्छ भन्ने हो । सरकारसँग व्यवसायीका पक्षमा लबिङ गर्न सक्ने नेतृत्वको खाँचो रहेको छ । यो क्षेत्रका समस्या नै नबुझेको व्यक्ति आएको खण्डमा समस्या समाधान गर्न सक्नु हुन् । त्यसैले व्यवसायी क्षेत्रमा अनुभव भएको र व्यवसायीको हकहितका लागि काम गर्न सक्ने नेतृत्व आउँनु पर्छ ।