Dhulikhel Eco Banner new

सडकमा आउनु व्यवसायीको बाध्यता हो, निजी क्षेत्र समस्यामा हुँदा राज्य पनि कमजोर बन्छ

4.69K
shares

काठमाडौं, २४ कात्तिक । पछिल्लो नेपालको अर्थतन्त्र निकै समस्याग्रस्त अवस्था पुगेको व्यवसायीहरुले बताइरहेका छन् । यही अवस्था रहे व्यवसाय छोडेर पलायन हुनु पर्ने अवस्था आउने व्यवसायीहरुले बताउने गरेका छन् । राज्यले लिएको नीतिका कारण व्यवसायीहरु मारमा परेको उद्योगीहरुको आरोप छ ।

पछिल्लो समय आर्थिक क्षेत्रको मेरुदण्डको रुपमा रहेको निजी क्षेत्र आन्दोलित बनिरहेको छ । केही दिन अघि काठमाडौं उद्योग वाणिज्य संघको नेतृत्वमा व्यवसायीहरुले सडकमा आएर मौन विरोध गरे । मंगलबार मात्रै पनि पूर्वका व्यवसायीहरुले सरकारलाई ज्ञापनपत्र बुझाउँदै बैंकहरुसँग कुनै पनि कारोबार नगर्नका लागि आग्रह गरिरहेका छन् ।

बैंक र व्यवसायीहरु बीचको यो टसलले राज्यलाई नै नोक्सानी हुने हो । यस तर्फ सबैले समयमै ध्यान दिन जरुरी छ । अहिलेको अवस्थामा बैंकले मात्रै कमाइउने र अरु क्षेत्र समस्यामा परिरहेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा काठमाडौं उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठको भनाइ छ । ‘हामीले बैंकलाई मात्रै दोष दिएको होइन । बचत कर्ता, व्यवसायी र बैंक सबै बाच्नु परो भन्ने हो,’ उनले भने । बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा पनि राम्रो आम्दानी गरेको बताएका श्रेष्ठले व्यवसायीलाई शोषण गरेर नाफा कमाउनु त्यति उचित नभएको बताए ।

त्यस्तै उद्योग वाणिज्य महासंघका अर्का उपाध्यक्ष अन्जन श्रेष्ठ व्यवसायीले तिर्ने पुँजीको लागत दोब्बरले बढेको बताए । जुन व्यवसायीले धान्नै नसक्ने अवस्था रहेको उनको भनाइ छ । ‘व्यवसायीहरु अन्तिम विकल्पका रुपमा सडकमा आउनु परेको हो । बजारमा तरलता अभाव हुने र ब्यापार घट्दो अवस्थामा छ, यसले नकारात्मक असर गरेको छ,’ उनले भने ।

अहिले दोहोरो अंकको पनि उच्चतम विन्दुमा पुगेको ब्याजदरमा ऋण लिएर व्यवसाय गर्न सक्ने अवस्थामा व्यवसायी नरहेको र यसले समग्र अर्थतन्त्रलाई नै धराशायी बनाउने फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका अध्यक्ष नानिराज घिमिरेको भनाइ छ । ‘बैंकमा निक्षेप बढाउने उद्देश्यले ब्याजदर बढाउँदा पनि निक्षेप संकलन बढ्न नसकेको अवस्थामा छ । खालि एउटा बैंकको पैसा अर्को बैंकमा लिएर राख्ने काम मात्रै भइरहेको छ,’ उनले भने ।

नियमनकारी निकायले काम नगरेका कारण अहिलेको अवस्था आएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा स्वास्थ्य तथा सीप विकास समिति सभापनि हेमराज ढकालको भनाइ छ । नियमनकारी निकायले लिएको गलत नीतिका कारण समस्या आएको उनले बताए । उत्पादन क्षेत्रका लागि उपयुक्त हुने नीति नभएका कारण अहिलेको अवस्था आएको उनको भनाइ छ ।

व्यवसायीले बैंकको ब्याजदर थेग्नै नसक्ने अवस्था सिर्जना भएको केमिकल तथा मेडिकल सप्लायर्स एसोसिएन अफ नेपालका अध्यक्ष भक्त बहादुर हमालको भनाइ छ । अहिलेको अवस्था आउनुमा राष्ट्र बैंक बढी जिम्मवार रहेको उनले बताए । ब्याजदर बढ्दा व्यवसायीलाई परेको मर्काका विषयमा बारम्बार आवाज उठाएको भए पनि सुनुवाई हुन नसक्दा सडकमा आउनु पर्ने बाध्यता रहेको उनले सुनाए ।