Dhulikhel Eco Banner new

पिपुल्स् हाइड्रोपावरको आईपीओ खुल्यो

6.57K
shares

काठमाडौं, २५ कात्तिक । पिपुल्स् हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आजदेखि आवेदन खुल्ला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बिक्री गरेर बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्ता शेयरसहित प्रतिकित्ता १०० रुपैयाँ अंकित कुल ५६ लाख ६ हजार ३९० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

निष्काशन गरिएकामध्ये ५ प्रतिशत अर्थात् २ लाख ८० हजार ३२० कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने ३ प्रतिशत अर्थात् १ लाख ६८ हजार १९० कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ५१ लाख ५७ हजार ८८० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी –आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा मेरो शेयर वेबसाइट र एपमार्फत आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा कात्तिक २९ गते हुनेछ । सो अवधिसम्म मागअनुसार आवेदन नपरेमा मंसिर ९ गतेसम्म आवेदन दिने म्याद थप गरिने बताइएको छ ।

यो कम्पनीले लमजुङको दोर्दीखोलामा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको कुल लागत १० अर्ब ३९ करोड रुपैयाँ अनुमान गरिएको छ भने प्रतिमेगावाट लागत १९ करोड २४ लाख ७ हजार ४०७ रुपैयाँ अनुमान गरिएको छ । आर्थिक वर्ष २०७७/७८ को कम्पनीको वास्तविक वित्तीय विवरणअनुसार प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ रहेको छ ।