Dhulikhel Eco Banner new

फागुन १२ गतेदेखि पाल्पा सिमेन्टको आईपीओ सर्वसाधारणका लागि खुल्ने

2.74K
shares

काठमाडौं, २८ माघ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले फागुन १२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ।

कम्पनीले प्रथम चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ जारी गरी बाँडफाँड समेत गरिसकेकाले अब दोस्रो चरणमा सर्वसाधारणका लागि जारी गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको कुल ७५ लाख कित्ता शेयर निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। जसमध्ये १८ लाख ७५ हजार कित्ता शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र ५ लाख ६२ हजार ५०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा जारी गरी बाँडफाँड समेत गरिसकेको छ।

अब कम्पनीले बाँकी शेयरमध्ये २ लाख ८१ हजार २५० कित्तासामूहिक लगानी कोषहरुका लागि र २ लाख ८१ हजार २५० कित्ता शेयर कम्पनीका कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी अन्त्यमा बाँकी रहेको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल ४५ लाख कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो।

यस आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि र अधिकतममा १ लाख कित्तासम्म माग गर्न सकिनेछ। निष्काशन बन्द छिटोमा फागुन १५ गते हुनेछ भने त्यस अवधिभित्र पर्याप्त आवेदन नपरेमा मात्रै फागुन २६ गते निष्काशन बन्द हुनेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई “आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग” प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।