वीर अस्पतालमा दीर्घरोगका औषधि अब एक महिनाका लागि मात्र वितरण
वि.सं.२०८२ फागुन १ शुक्रवार १५:३०
shares

काठमाडौं, १ फागुन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको वीर अस्पताल ले स्वास्थ्य बीमा कार्यक्रममार्फत वितरण गर्दै आएको दीर्घरोगका औषधि अब एक महिनाका लागि मात्रै उपलब्ध गराउने निर्णय गरेको छ।
अस्पताल प्रशासनले सूचना जारी गर्दै लामो समयसम्म नियमित सेवन गर्नुपर्ने औषधि यसअघि तीन महिनाका लागि उपलब्ध गराइँदै आएको भए पनि विशेष कारणवश अब अर्को व्यवस्था नभएसम्म एक महिनाका लागि मात्रै वितरण गरिने जनाएको हो।
अस्पतालका अनुसार उक्त निर्णय माघ २९ गते बसेको बैठकको निर्णयअनुसार कार्यान्वयनमा ल्याइएको हो।
नयाँ व्यवस्थाअनुसार स्वास्थ्य बीमित सेवाग्राहीले प्रत्येक महिना अस्पतालमा उपस्थित भएर औषधि लिनुपर्नेछ। यसअघि तीन महिनाको औषधि एकैपटक उपलब्ध हुँदा बिरामीलाई सहज हुने गरेको थियो।
अस्पताल प्रशासनले व्यवस्थागत कारणले यस्तो निर्णय लिनुपरेको स्पष्ट पार्दै यसबाट सेवाग्राहीमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना समेत गरेको छ। साथै, परिस्थितिअनुसार आगामी दिनमा पुनः पुरानै व्यवस्था लागू हुन सक्ने संकेत पनि दिएको छ।









