Dhulikhel Eco Banner new

डबल पैसाको प्रलोभनमा नपर्नुहोस्ः राष्ट्र बैंक

1.81K
shares

काठमाडौं, ५ चैत । सामाजिक सञ्जालमार्फत फैलिने आकर्षक लगानीका प्रस्तावप्रति सचेत रहन नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ। ग्लोबल मनी विकको अवसर पारेर जारी गरिएको सन्देशमा केन्द्रीय बैंकले छिटो र ठूलो आम्दानीको प्रलोभन देखाउने योजनाहरूबाट सावधान रहन चेतावनी दिएको हो।

राष्ट्र बैंकका अनुसार पछिल्लो समय इन्टरनेट र सामाजिक सञ्जालमा “उच्च नाफा”, “आकर्षक बोनस” वा “पुरस्कार” जस्ता आश्वासनसहितका सन्देशहरू बढ्दै गएका छन्, जसले प्रयोगकर्तालाई लगानी गर्न प्रेरित गर्ने गर्छन्। तर यस्ता प्रस्तावहरू प्रायः ठगीका माध्यम हुन सक्ने भएकाले यिनमा विश्वास गर्नु जोखिमपूर्ण हुने बताइएको छ।

केन्द्रीय बैंकले कुनै पनि लगानीसम्बन्धी निर्णय गर्दा हतार नगर्न, स्रोतको विश्वसनीयता जाँच्न र आवश्यक अनुसन्धान गरेर मात्र अघि बढ्न सुझाव दिएको छ। “अनलाइनमार्फत प्राप्त हुने अस्वाभाविक रूपमा लाभदायक प्रस्तावहरूबाट टाढा रहनुहोस्,” सन्देशमा उल्लेख गरिएको छ।

साथै, वित्तीय सुरक्षालाई प्राथमिकता दिन, आधिकारिक तथा विश्वसनीय माध्यमबाट मात्र जानकारी लिन र शंकास्पद गतिविधि देखिएमा सम्बन्धित निकायलाई जानकारी गराउन पनि राष्ट्र बैंकले आग्रह गरेको छ।