Dhulikhel Eco Banner new

नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन

1.24K
shares

काठमाडौं, ३ वैशाक । पोर्चुगलको राजधानी लिस्बनस्थित नेपाली दूतावासले स्थापना भएको एक वर्षभित्र राहदानी तथा कागजात प्रमाणीकरणसम्बन्धी कन्सुलर सेवामा उल्लेखनीय प्रगति गरेको जनाएको छ। सोमबार पोर्चुगलमा क्रियाशील नेपाली पत्रकारहरूसँग आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा दूतावासले आफ्नो वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै एक वर्षको अवधिमा कुल ३५ हजार ७८९ कन्सुलर सेवा प्रदान गरिएको जानकारी दिएको हो।

दूतावासका अनुसार सबैभन्दा बढी सेवा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) प्रमाणीकरणसम्बन्धी रहेको छ। प्रतिवेदनअनुसार २३ हजार ७८९ जनाको प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गरिएको छ। त्यसैगरी, ५ हजार ७९६ जनालाई राहदानी (इ–पासपोर्ट) सेवा प्रदान गरिएको छ भने १०९ जनालाई यात्रा अनुमतिपत्र जारी गरिएको छ। साथै, ५ हजार ६५५ वटा शैक्षिक, पारिवारिक तथा अन्य कागजात प्रमाणीकरण गरिएको दूतावासले जनाएको छ। अन्य सेवाअन्तर्गत ४१४ वटा अधिकृत वारेसनामा र २६ वटा शव फिर्तीसँग सम्बन्धित सेवा प्रदान गरिएको उल्लेख गरिएको छ।

दूतावासले एक वर्षमा करिब २९ लाख ९० हजार युरो (झण्डै ५० करोड नेपाली रुपैयाँ) राजस्व संकलन गरेको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले जानकारी दिए। कार्यक्रममा बोल्दै राजदूत पौडेलले दूतावासले प्रवाह गरेका सेवाहरूले पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायलाई प्रत्यक्ष रूपमा सहजता प्रदान गरेको बताए। उनले राहदानी, कागजात प्रमाणीकरणजस्ता नियमित सेवासँगै नेपालीहरूको समस्या समाधानमा दूतावास सक्रिय रूपमा लागिरहेको उल्लेख गरे।

दूतावासले कूटनीतिक कार्यअन्तर्गत आर्थिक कूटनीति, नेपाली समुदायसँग समन्वय, पोर्चुगिज सरकारी निकायहरूसँग सम्बन्ध विस्तार तथा दुई देशबीचको द्विपक्षीय सम्बन्ध सुदृढ गर्न विभिन्न पहलहरू अघि बढाइरहेको जनाएको छ। उक्त कार्यक्रममा दूतावासका कर्मचारीहरू तथा पोर्चुगलमा कार्यरत नेपाली पत्रकारहरूको सहभागिता रहेको थियो। उल्लेखनीय छ कि लिस्बनस्थित नेपाली दूतावास २०२५ मार्च ३१ मा स्थापना भएको थियो भने २०२५ अप्रिल १६ देखि औपचारिक रूपमा सेवा सुरु गरेको हो। दूतावासका अनुसार पोर्चुगलमा हाल ६० हजारभन्दा बढी नेपालीहरूको बसोबास रहेको अनुमान गरिएको छ।