Dhulikhel Eco Banner new

प्रधानमन्त्री बालेन्द्र शाह टाइमको ‘विश्वका १०० प्रभावशाली’ सूचीमा

910
shares

काठमाडौं, ३ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सन् २०२६ का लागि ‘विश्वका १०० प्रभावशाली व्यक्तिहरू’ को सूचीमा परेका छन्। उक्त सूची अन्तर्राष्ट्रिय पत्रिका टाइमले सार्वजनिक गरेको हो । जसमा उनलाई ‘नेता’ समूहअन्तर्गत राखिएको छ।

३६ वर्षीय शाहलाई पत्रिकाले ‘पूर्व हिप–हप कलाकार’ तथा नेपालको इतिहासकै ‘कान्छो प्रधानमन्त्री’ का रूपमा उल्लेख गरेको छ। हालै सम्पन्न आम निर्वाचनमा युवापुस्ताको उल्लेखनीय समर्थन र पुराना नेताहरूप्रतिको असन्तुष्टिका कारण उनले प्रभावशाली विजय हासिल गरेको उल्लेख गरिएको छ।

सिभिल इन्जिनियरिङमा स्नातक शाहले काठमाडौं महानगरपालिकाको मेयर हुँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेका सुधारलाई अब राष्ट्रिय स्तरमा विस्तार गर्ने चुनौती सामना गरिरहेका छन्।

टाइमका अनुसार शाहको उदय दक्षिण एसियामा वंशवादी र पुरानो राजनीतिक प्रणालीविरुद्धको महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ। पत्रिकाले लेखेको छ, “बालेनको उदयले नेपालको ३ करोड जनसंख्याको नेतृत्व मात्र होइन, पुरानो राजनीतिक शैलीप्रति पूर्ण अस्वीकृति पनि जनाउँछ।”

यस वर्षको सूचीमा अन्य प्रभावशाली विश्व नेताहरू पनि समावेश छन्। राजनीतिक क्षेत्रमा अमेरिका, चीन, मेक्सिको र इजरायलका शीर्ष नेताहरू, व्यापार तथा प्रविधिमा विश्वका प्रमुख उद्यमीहरू, कला तथा मनोरञ्जन क्षेत्रमा चर्चित कलाकारहरू तथा खेलकुद र सामाजिक सञ्जालका प्रभावशाली व्यक्तित्वहरूले स्थान पाएका छन्।

यस सूचीमा समावेश हुनु प्रधानमन्त्री शाहका लागि अन्तर्राष्ट्रिय पहिचान र प्रभाव विस्तारको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।