Dhulikhel Eco Banner new

कर्णालीले विज्ञापन होइन, काम गर्छ : मुख्यमन्त्री शाही

4.71K
shares

काठमाडौं, २० असार । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीले विज्ञापन भन्दा काम बढी गर्दै आइरहेको बताएका छन्। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित प्रदेशस्तरीय विपद् व्यवस्थापनमा आधारित पत्रकारिता तथा क्षमता अभिवृद्धि तालिम उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले कामले आफैँ विज्ञापन गर्ने तर्क गरे ।

उनले समयको महत्व बुझ्दा हरेक समाज तथा व्यक्तिले क्षति व्यहोर्न नपर्ने जनाए । विपद्मा अर्काको समाचार लेख्ने पत्रकारले आफू सुरक्षित हुनुपर्नेमा उनले जोड दिए । उजले भने, “पत्रकारको लेखाइको मनोविज्ञान सकरात्मक र एकै अर्थ दिने शब्द हुनुपर्दछ । विपद्मा त्रासदी फैलाउने र हतोत्साहित नहुने खालको समाचार सम्प्रेषणले सम्वेदनशील पत्रकारिताको जिम्मेवारी पूरा हुन्छ ।”

आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले विपद् मानव जीवनको अजात शत्रु भएकाले यसबाट बच्न र बचाउन पत्रकारको ठूलो भूमिका रहेको बताए । उनले यहाँका १७ लाख जनतालाई विपद्बाट बचाउन सत्य तथ्य सूचना र जानकारीको मुख्य जिम्मेवार पत्रकार नै भएको उल्लेख गरे ।

नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिका अध्यक्ष देवीराम देवकोटाले विपद्मा केन्द्रित रहेर काम गर्न र यसमा काम गर्ने पत्रकारको क्षमता अभिवृद्धिका लागि दुई दिनको प्रदेशस्तरीय क्षमता अभिवृद्धिको तालिम आयोजना गरिएको बताए । विपद्सँग सम्बन्धित उक्त कार्यक्रममा यहाँका सात जिल्लाका ३० पत्रकारको सहभागिता रहेको छ । उक्त तालिमको प्रशिक्षक भवानी बराल रहेका छन् ।