Dhulikhel Eco Banner new

राष्ट्र बैंक सञ्चालक समिति ९ सदस्यीय बनाउने प्रस्ताव

2.03K
shares

काठमाडौं, १३ जेठ । सरकारले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको आकार बढाउने प्रस्ताव अघि सारेको छ । हाल ७ सदस्यीय रहेको सञ्चालक समितिलाई ९ सदस्यीय बनाउने व्यवस्था सहित नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधनका लागि विधेयक संघीय संसद्को प्रतिनिधिसभामा दर्ता गरिएको हो ।

सरकारले दर्ता गरेको विधेयकअनुसार सञ्चालक समितिमा विभिन्न क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्दै ५ जना गैरकार्यकारी स्वतन्त्र सञ्चालक रहने व्यवस्था प्रस्ताव गरिएको छ । ती सञ्चालकहरू ऐनको दफा २० बमोजिम योग्यता पुगेका व्यक्तिमध्ये नेपाल सरकारले नियुक्त गर्ने व्यवस्था राखिएको छ ।

हाल भने आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानुन क्षेत्रमा लब्धप्रतिष्ठित व्यक्तिमध्ये नेपाल सरकारले नियुक्त गरेका ३ जना सञ्चालक रहने व्यवस्था रहेको छ ।

प्रस्तावित व्यवस्थाअनुसार राष्ट्र बैंक सञ्चालक समितिको अध्यक्ष गभर्नर रहनेछन् । त्यसैगरी सदस्यमा अर्थ सचिव तथा दुई डेपुटी गभर्नर रहने व्यवस्था यथावत् राखिएको छ । सरकारले केन्द्रीय बैंकको नीतिगत तथा संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालक समितिको दायरा विस्तार गर्न लागेको बताइएको छ ।