Dhulikhel Eco Banner new

आकस्मिक सेवामा सामान्य बिरामीको उपचार गरे दाबी भुक्तानी नपाउने

1.5K
shares

काठमाडौं, १९ जेठ । सामान्य बिरामीलाई आकस्मिक सेवामा उपचार गरे बीमा दाबी भुक्तानी नहुने स्वास्थ्य बीमा बोर्डले सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक स्वास्थ्य सेवाअन्तर्गत उपचार गरी स्वास्थ्य बीमा दाबी पेश गरिएमा त्यस्ता दाबीहरूको भुक्तानी नहुने स्पष्ट गरेको छ।

बोर्डले मंगलबार एक परिपत्र जारी गर्दै आकस्मिक स्वास्थ्य समस्या भएका बिरामीलाई भने आवश्यक उपचार सेवा उपलब्ध गराउन र उपचारमा कुनै अवरोध नगर्न सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।

गत जेठ १२ गते बोर्डले निजी अस्पतालबाट आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य बीमा सेवा स्थगित गरेको थियो। त्यसपछि केही स्वास्थ्य संस्थामा सामान्य बिरामीलाई समेत आकस्मिक सेवाको नाममा उपचार गरी बीमा दाबी पेश गर्ने प्रवृत्ति देखिएको भन्दै बोर्डले यस्तो स्पष्टिकरण दिएको हो।

बोर्डका अनुसार कुनै बिरामीको स्वास्थ्य अवस्था तत्काल उपचार आवश्यक पर्ने प्रकृतिको भएमा त्यस्ता बिरामीलाई आकस्मिक स्वास्थ्य सेवा अन्तर्गत उपचार गर्न सकिनेछ। उपचारका क्रममा बिरामीलाई अस्पतालमा भर्ना गर्नुपर्ने वा शल्यक्रिया गर्नुपर्ने अवस्था आएमा चिकित्सकीय आवश्यकताअनुसार उपचार गर्न पाइने व्यवस्था रहेको छ।

तर सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक सेवाको नाममा उपचार गरी स्वास्थ्य बीमा दाबी पेश गरिएमा त्यस्ता दाबीहरू स्वीकार नगरिने बोर्डले जनाएको छ। साथै, यस्तो कार्य गरेमा प्रचलित कानुनअनुसार सम्बन्धित स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीमाथि कारबाहीसमेत हुन सक्ने चेतावनी दिइएको छ।

बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई जारी निर्देशिकाको पूर्ण पालना गर्न आग्रह गरेको छ। साथै सेवाग्राहीहरूलाई पनि नियमअनुसार मात्र सेवा लिन, स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीमाथि अनावश्यक दबाब नदिन तथा तोकिएको प्रक्रियाअनुसार उपचार सेवा प्राप्त गर्न अनुरोध गरेको छ।