टरिगाउँ विमानस्थल विस्तारका लागि २५ करोड बजेट, दाङको विकासमा नयाँ आशा
वि.सं.२०८३ जेठ १९ मंगलवार १३:३६
shares

काठमाडौं, १९ जेठ । स्थापना भएको झण्डै ७० वर्षपछि दाङको टरिगाउँ विमानस्थल विस्तारका लागि सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा २५ करोड रुपैयाँ विनियोजन गरेको छ। बजेट विनियोजनसँगै विमानस्थलको धावनमार्ग विस्तार हुने र भविष्यमा ७२ सिटेसम्मका विमान अवतरण गर्न सक्ने अपेक्षा गरिएको छ।
यसअघि दाङ क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले संसदमा पटक–पटक टरिगाउँ विमानस्थल विस्तारको विषय उठाउँदै आएका थिए। उनले टरिगाउँ विमानस्थल नेपालकै दोस्रो पुरानो विमानस्थलमध्ये एक भएको उल्लेख गर्दै यसको विस्तार नहुनुपर्ने कुनै वैज्ञानिक वा प्राविधिक कारण नभएको बताएका थिए । साथै, दाङमा नियमित र स्तरीय हवाई सेवा सञ्चालन हुन सके दाङ मात्र नभई समग्र राप्ती क्षेत्रअन्तर्गत दाङ, सल्यान, रोल्पा, रुकुम र प्युठानका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने तथा यसले क्षेत्रको समग्र विकास र समृद्धिमा ठूलो फड्को मार्ने जिकिर गरेका थिए।
रास्वपाका सभापति रवि लामिछाने का विश्वासपात्र मानिने आचार्य मन्त्री बन्ने दौडमा नलागी पार्टी संगठन निर्माण र विस्तारमा सक्रिय छन् । उनी हाल रास्वपाको स्थानीय तह निर्वाचन केन्द्रित ‘क्यान्डिडेट क्लब’ तथा उम्मेदवार छनोट समितिका संयोजकको जिम्मेवारीमा रहेका छन्।
२०११ सालदेखि सञ्चालनमा आएको टरिगाउँ विमानस्थल नेपालका पुराना विमानस्थलमध्ये एक हो। हाल विमानस्थलको धावनमार्ग ७५० मिटर मात्र कालोपत्रे भएकाले १९ सिटेसम्मका साना विमान मात्रै अवतरण गर्न सक्ने अवस्था छ। नयाँ बजेटमार्फत धावनमार्गलाई १,५०० मिटर पुर्याउने लक्ष्य राखिएको छ। सांसद सुबेदीका अनुसार धावनमार्ग विस्तार सम्पन्न भएपछि तुलसीपुरबाट ठूला विमान सञ्चालनको सम्भावना बढ्नेछ, जसले दाङको आर्थिक, सामाजिक तथा पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ।
लुम्बिनी प्रदेशको राजधानीका रूपमा रहेको दाङमा नियमित हवाई सेवा सञ्चालन हुन सके समग्र राप्ती क्षेत्रका बासिन्दाको जीवनशैली, व्यापार–व्यवसाय तथा आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ। साथै संघीय राजधानी काठमाडौंसँग सहज हवाई पहुँच स्थापित हुँदा लगानी, रोजगारी, पर्यटन तथा सेवा क्षेत्रको विस्तारमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
स्थानीयवासीले वर्षौंदेखि उठाउँदै आएको टरिगाउँ विमानस्थल विस्तारको माग अब कार्यान्वयनको चरणमा प्रवेश गर्ने संकेत देखिएको छ। बजेट प्रभावकारी रूपमा कार्यान्वयन हुन सके दाङको हवाई यातायात, आर्थिक गतिविधि र समग्र पूर्वाधार विकासमा ऐतिहासिक परिवर्तन आउने अपेक्षा गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट दाङ क्षेत्र नम्बर–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कमल सुबेदी ले सामाजिक सञ्जाल फेसबुकमार्फत टरिगाउँ विमानस्थल विस्तारका लागि २५ करोड रुपैयाँ बजेट सुनिश्चित भएको जानकारी दिएका छन्।
















