बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्दै बीमा प्राधिकरण
वि.सं.२०८३ जेठ १९ मंगलवार १४:५६
shares

काठमाडौं, १९ जेठ । नेपाल बीमा प्राधिकरणले बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। प्राधिकरणले आफ्नो बैंक मौज्दात लगानी नीति अनुसार विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा मुद्दती निक्षेपमार्फत लगानी गर्न प्रक्रिया अघि बढाएको हो।
यसका लागि प्राधिकरणले इच्छुक बैंकहरूलाई आफूले उपलब्ध गराउन सक्ने अधिकतम प्रतिफल ९ब्याजदर० उल्लेख गरी आवश्यक विवरणसहित ७ दिनभित्र सिलबन्दी दरभाउपत्र पेश गर्न आह्वान गरेको छ। प्राधिकरणका अनुसार पेश गरिने सिलबन्दी दरभाउपत्रको मान्य अवधि कम्तीमा १५ दिनको हुनुपर्नेछ।
दरभाउपत्रसँगै बैंकहरूले मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम ब्याजदर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा–नोक्सानको अवस्था, निष्क्रिय सम्पत्तिको विवरण, कर्जा–निक्षेप अनुपात तथा पूँजी पर्याप्तता कोषसम्बन्धी कागजातसमेत पेश गर्नुपर्नेछ।
प्राधिकरणले प्राप्त प्रस्तावहरूको मूल्याङ्कन गरी वित्तीय अवस्था, नाफाक्षमता तथा जोखिम सूचकका आधारमा लगानीका लागि उपयुक्त बैंक छनोट गर्ने जनाएको छ। यद्यपि, यस चरणमा मुद्दती निक्षेपमा लगानी गरिने कुल रकम भने प्राधिकरणले सार्वजनिक गरेको छैन।
प्राधिकरणको यो निर्णयले बैंकिङ क्षेत्रमा थप निक्षेप परिचालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, प्रतिस्पर्धात्मक रूपमा ब्याजदर प्रस्ताव गर्न आह्वान गरिएकाले बैंकहरूबीच आकर्षक प्रतिफल प्रस्ताव गर्ने प्रतिस्पर्धा समेत बढ्ने देखिएको छ।
















