Dhulikhel Eco Banner new

खाना पकाउने ग्यासमा कालोबजारी: एभरेष्ट मार्टलाई २ लाख जरिवाना

1.17K
shares

काठमाडौं, २२ साउन । खाना पकाउने ग्यास तोकिएको मूल्यभन्दा बढीमा बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं महानगरपालिका–१७, ठहिटीस्थित एभरेष्ट मार्ट स्टोर प्रालिलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ।

विभागले स्थलगत बजार अनुगमनका क्रममा उक्त स्टोरले उपभोक्ताबाट निर्धारित मूल्यभन्दा बढी रकम असुलेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गर्दै २ लाख रुपैयाँ जरिवाना गरेको जनाएको छ।

यस्तै, ग्यास कारोबार गर्ने गृष्मा इन्टरप्राइजेज लाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। विभागले उक्त फर्मलाई साउन १ गतेदेखि हालसम्मको खाना पकाउने ग्यासको खरिद–बिक्री विवरण, बिक्री–वितरण अभिलेख र बिलसहित तीन दिनभित्र उपस्थित हुन भनेको छ।

अनुगमनका क्रममा अन्य केही व्यावसायिक फर्ममा पनि कमजोरी देखिएकाले सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ। स्थानीय उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा नियमित बजार अनुगमन भइरहेको विभागको भनाइ छ।

पछिल्ला दिनमा खाना पकाउने ग्यासको आपूर्ति तथा बिक्री–वितरणमा देखिएका समस्या र उपभोक्ताबाट बढी मूल्य असुलिएको गुनासो बढेपछि विभागले बजार अनुगमन र निरीक्षणलाई थप प्रभावकारी बनाएको जनाएको छ।

विभागका अनुसार बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ अनुसार आवश्यक निर्देशन, सुधारात्मक आदेश तथा कानुनी कारबाहीलाई निरन्तरता दिइनेछ।