अमेरिकाको सोनोमा सिटीबाट भोटेकोशी बाढीपीडितलाई १ करोड ७० लाखभन्दा बढी सहयोग
वि.सं.२०८३ मंसिर ७ सोमवार १०:३८
shares

काठमाडौं, ७ मंसिर । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सोनोमा सिटीको पहलमा नेपालको भोटेकोशी बाढीपीडितका लागि १ करोड ७० लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग पठाइएको छ ।
सोनोमा सिटीको पहलमा संकलित १ करोड ७० लाख ३८ हजार ७ सय ५९ रुपैयाँ ७४ पैसा नेपाल सरकारको प्रधानमन्त्री आकस्मिक राहत कोषमा पठाइएको हो ।
विश्वप्रसिद्ध नापा वाइन क्षेत्रभित्र पर्ने सोनोमा सुन्दर पर्यटकीय सहरका रूपमा परिचित छ । यस सहरमा करिब तीन दशकअघिदेखि नेपाली–अमेरिकीहरू बसोबास गर्दै आएका छन् । त्यहाँ रहेका नेपाली समुदायमध्ये शेर्पाहरूको जनसंख्या तुलनात्मक रूपमा बढी छ ।
नेपालको भोटेकोशीमा आएको बाढीको दुःखद समाचार सार्वजनिक भएपछि Sonoma City Councilmember, John Gurney (District 3) तथा स्थानीय व्यक्तित्वहरू Gary Edward and Christian Durupee ले नेपाली मूलका मंगल रानामगरसँग सम्पर्क गरेका थिए । उनीहरूले घटनाप्रति दुःख व्यक्त गर्दै पीडितलाई कसरी सहयोग गर्न सकिन्छ भनेर चासो राखेका थिए ।
सोलुखुम्बु घर भएका रानामगर करिब दुई दशकदेखि सोही सहरमा बस्दै आएका छन् । उनको Councilmember गुर्नीसँग व्यक्तिगत सम्बन्धसमेत रहेको छ ।
सुरुमा भएको एउटा सानो बैठकपछि काउन्सिलमेम्बर गुर्नीले समन्वय गर्दै सहयोग संकलन अभियान सुरु गरेका थिए । अभियानमा मंगल रानामगरसहित सोनोमामा रहेका अन्य नेपाली, वाइनरी तथा रेस्टुरेन्टहरूले सहयोग गरेका थिए । अभियानबाट कुल १ लाख १६ हजार ४६ अमेरिकी डलर ६६ सेन्ट संकलन भएको थियो ।
यसअघि पनि नेपालमा गएको महाभूकम्पका बेला सोनोमा सिटीको संयोजनमा नेपाललाई सहयोग पठाइएको थियो ।
संकलित १ लाख १६ हजार ४६ अमेरिकी डलर ६६ सेन्ट नोभेम्बर २, २०२६ सोमबारका दिन नेपाल सरकारले उपलब्ध गराएको बैंक खातामा वायर ट्रान्सफर गरिएको हो । उक्त रकम नेपाली मुद्रामा १ करोड ७० लाख ३८ हजार ७ सय ५९ रुपैयाँ ७४ पैसा बराबर भएको छ ।
रकम पठाउने प्रक्रियामा अभियानका संयोजक रानामगरले काउन्सिलमेम्बरकै सहमतिमा नेपाली संस्था ‘क्यालिफोर्निया शेर्पा एसोसिएसन’को ईआईएन नम्बर प्रयोग गरिएको जानकारी दिएका छन् । रकम नेपाल सरकारको खातामा पठाइएको जानकारी प्रधानमन्त्रीको सचिवालयलाई समेत गराइएको छ । रकम प्राप्त भएपछि सचिवालयले जानकारी दिने बताइएको छ ।
रानामगरले सहयोग उपलब्ध गराएकोमा नेपाल सरकारको परराष्ट्र मन्त्रालयले सोनोमा सिटीका काउन्सिलमेम्बरलाई धन्यवाद पत्र पठाइदिए आफूहरू आभारी हुने बताएका छन् ।

















