Dhulikhel Eco Banner new

‘नेपालको पर्यटन विकासमा युवाको भूमिका महत्वपूर्ण छ’

8.29K
shares

काठमाडौं, २५ साउन । नेपालको पर्यटन विकासमा युवाको भूमिका महत्वपूर्ण रहेको बताइएको छ । विश्व युवा दिवसका अवसरमा ठमेल युनेस्को क्लबले आज शान्ति विद्यागृह लैनचौरमा आयोजना गरेको कार्यक्रममा नेपालका युवालाई पर्यटन क्षेत्रमा लगाउन सकेमात्र देशको विकास हुने बताएका हुन् ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले नेपालको पर्यटन क्षेत्रका बारेमा विश्वमाझ चिनाउन नेपाली युवाको महत्वपूर्ण भूमिका रहेको बताए । “नेपाल आउने ८० प्रतिशत पर्यटक ठमेल आउने गरेका छन्, पर्यटकको सहयोगीका रूपमा युवाले नेपालको पर्यटन क्षेत्रका बारेमा विदेशीलाई जानकारी दिनसके युवाको आयआर्जनमा समेत सहयोग पुग्नेछ”, उनले भने । नेपालको पर्यटन क्षेत्रमा अथाह सम्भावना रहेको उनको भनाइ थियो ।

ठमेल पर्यटन विकास परिषद्का पूर्वध्यक्ष एवं पर्यटन व्यवसायी डा रामशरण थपलियाले पछिल्लो समय पर्यटन क्षेत्रमा युवा सहभागिता बढ्दै गएको बताए । “पछिल्लो समय होटल व्यवस्थापन पढाउने कलेज र नाथमले पर्यटन शिक्षा सुरु गरेका छन्, यसले नेपालको पर्यटन क्षेत्रलाई सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ”, उनले भने । डा थपलियाले देशको पर्यटन क्षेत्रको विकास गर्नका लागि आन्तरिक पर्यटकलाई प्रवद्र्धन गर्नुपर्ने उल्लेख गरे ।

पर्यटन व्यवसायी रमेश त्रिपाठीले कोरोनाले थलिएको नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्नका लागि युवाको भूमिका महत्वपूर्ण रहेको बताए । शान्ति विद्यागृह माध्यमिक विद्यालयकी प्राचार्य शिवकुमारी बराल घिमिरेले देशको अर्थतन्त्रको विकासमा पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

ठमेल युनेस्को क्लबका अध्यक्ष अनिल सिलवालले युवाले पर्यटन क्षेत्रको विकासमा अग्रणी भूमिका खेल्नसक्ने भएकाले युवालाई पर्यटन क्षेत्रमा अगाडि बढाउनुपर्ने धारणा राखेका थिए ।