Dhulikhel Eco Banner new

कुचो निर्यातबाट ७० करोड आम्दानी

11.64K
shares

काठमाडौं, ९ भदौ । नेपालबाट गत आर्थिक वर्ष करिब ७० करोडको कुचो निर्यात भएको छ । गत आर्थिक वर्षमा अघिल्लो वर्षको केही बढी निर्यात भएर ६९ करोड ९८ लाख ६२ हजारको कुचो निर्यात भएको हो ।

यो अघिल्लो वर्षको तुलनामा ४ करोड बढी हो । अघिल्लो आर्थिक वर्षमा नेपालबाट ६५ करोड ८८ लाख १३ हजार रुपैयाँको कुचो विदेश निर्यात भएको नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीले जानकारी दिए । नेपालबाट भारत र बंगलादेशमा कुचो निर्यात हुने गरेको छ । ‘यो सरकारी तथ्यांक हो, तर अनौपचारीक रुपमा करिब ५ अर्बको कुचो विदेश निर्यात हुन्छ,’ अध्यक्ष कार्कीले भने ।

कुचोको निर्यातबाट विदेशी मुद्रा नेपाल भित्रिएको छ तर यसको विकास र विस्तारका लागि कसैको पनि ध्यान जान नसकेको उनको गुनासो छ । सरकारले दिने नगद अनुदान पनि कुचो व्यवसायीहरुले पाउन नसकेको अध्यक्षक कार्कीको भनाइ छ । ‘सरकारले निर्यात हुने बस्तुमा नगद अनुदानको व्यवस्था गरेको छ तर कुचो व्यवसायीलाई भने त्यो दिइएको छैन्,’ उनले भने ।

विशेष गरी अम्लिसोको कुचो निर्यात हुने गरेको छ । अम्लिसो बहु उपयोगि वनस्पती भएकाले यसको खेती गरिदिन उनले किसानलाई आग्रह समेत गरेका छन् । गत वर्ष १ करोड ३३ लाख ८३ लाख ३८० किलोग्राम कुचो निर्यात भएको थियो भने गत आर्थिक वर्षमा १ करोड ४० लाख ७९ हजार ४२५ किलो कुचो निर्यात भएको अध्यक्ष कार्कीले जानकारी दिए ।