होटल तथा पर्यटन व्यवसायी संघ वागमतिको अध्यक्षका लागि ५ जना आकांक्षी, सर्वसम्मतको प्रयास जारी
वि.सं.२०७९ फागुन १६ मंगलवार १७:०३
shares

काठमाडौं, १६ फागुन । होटल तथा पर्यटन व्यवसायी संघ, बागमती प्रदेशको नयाँ नेतृत्व चयन हुने भएको छ । बुधबार प्रदेशको दामन, चित्लाङमा बस्ने संघको दोस्रो साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने भएको हो ।
संघको भावि नेतृत्व सर्वसम्मतिमा नै चयन गर्ने विषयमा निरन्तर प्रयास भए पनि हालसम्म ५ जनाले अध्यक्षमा आकांक्षा देखाएका छन् । संघको वर्तमान कार्यसमिति महासचिव दामोदर नेपाल र सचिव श्यामकुमार (भालु) श्रेष्ठले मुख्य गरी अध्यक्षका लागि तयारी गरिरहेका छन् । यद्यपि, वर्तमान् कार्यसमितिकै वरिष्ठ उपाध्यक्ष दिपेश सुवेदी, उपाध्यक्षद्धय निर्पु सर्राफ र देवराज नेपालले समेत अध्यक्षमा आकाक्षा देखाएका छन् । अन्य पदाधिकारी र सदस्यहरुमा भने अहिलेसम्म कसैको पनि दाबी घोषणा भएको छैन ।
अहिलेसम्म ५ जनाले आकांक्षा देखाएपनि संघको नेतृत्व सर्वसम्मतिबाटै खोजिने अध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिए । ‘संघको वर्तमान कार्यसमिति वरिष्ठ उपाध्यक्ष, पहिलो र दोस्रो उपाध्यक्षसँगै महासचिव र सचिवले समेत अध्यक्षमा आकांक्षा देखाउनु भएको छ । तर निर्वाचन हुँदैन, हामी अधिकतम गृहकार्य गरेर सर्वसम्मतिमा नै नेतृत्व चयन गर्छौ’ उप्रेतीले भने ।
वर्तमान कार्यसमिति सर्वसम्मतिमा नै चयन भएकाले भावि नेतृत्व पनि सर्वसम्मतमा नै चयन गर्नेगरी सहमति जुटाइने उप्रेतीले बताए । ३ वर्षे कार्यावधि हुने संघको नेतृत्वमा २३ जना सदस्य रहने छ । २० जना प्रत्यक्ष चयन हुने छन् भने बाँकी ३ जना सदस्य भने निर्वाचित कार्यसमितिले मनोनित गर्ने संघको विधानमा व्यवस्था छ ।
संघको वर्तमान अध्यक्ष उप्रेती आफ्नो ३ वर्षे कार्यकाल सकेर बिदा हुँदैछन् । उप्रेती यसअघि नै होटल तथा पर्यटन व्यवसायी महासंघको पर्यटन तर्फको उपाध्यक्षमा चयन भइसकेका छन् । कोभिड–१९ का कारण झण्डै साढे ३ वर्ष संघको नेतृत्व हाकेका उप्रेतीले आफ्नो कार्यकालमा संघमा आवद्ध व्यवसायीहरुलाई व्यवसायीक सहजिकरणका लागि राज्यसँग सहुलियतपूर्ण कर्जाको प्रबन्ध गर्नेदेखि व्यवसायिक भाडा छुट तथा राहतको व्यवस्था गराएका थिए ।















