Dhulikhel Eco Banner new

दुई महिनादेखि त्रियुगा नगरपालिकाको आर्थिक कारोबार ठप्प

4.12K
shares

काठमाडौं, २६ चैत । उदयपुरको त्रियुगा नगरपालिकाको आर्थिक कारोबार दुई महिनादेखि अवरुद्ध भएको छ । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा लामोसमयदेखि आर्थिक कारोबारको काम ठप्प भएको हो ।

नगरपालिकाले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराइ मन्त्रालयमा फिर्ता पठाएसँगै नगरपालिकाको आर्थिक कारोबार ठप्प हुन पुगेको छ । नगरपालिकाको उक्त निर्णयप्रति उदयपुरका विभिन्न राजनीतिक दलहरुले ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर दरबन्दी अनुसार सरुवा भएर आएका उप सचिवलाई नगरपालिकाले हाजिर नगराएको भन्दै यसमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

नेकका माओवादी केन्द्र, नेपाली कांग्रेस, एकीकृत समाजवादी, रास्वपा लगायत पार्टीहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ,– ‘स्थानीय सरकारवाट नागरिकहरुले पाउनुपर्ने सेवा सुविधा प्रभावकारीरुपले समयमै पाउँनु पर्दछ तर यत्तिका लामो अवधिसम्म नगरको सेवा सुविधाबाट नागरिकहरु बञ्चित भई सास्ती खेप्न बाध्य भएकोमा हामी अत्यन्तै चिन्तित भएका छौं ।’

स्थानीय सरकारको लागि यस अवधि आर्थिक बर्षको स्वीकृत बजेट खर्च तथा योजना कार्यान्वयनको हिसावले अति महत्वपूर्ण संबेदनशिल समय पनि हो । तर नगरपालिका प्रमूख प्रशासकीय अधिकृत विहिन हुँदा नगरको समग्र योजना सम्झौता, कार्यादेश, योजना कार्यक्रम अनुगमन, खर्च भुक्तानी र योजना फस्र्यौट लगायतका कामकार्यमा बाधा मात्रै परेको छैन आगामी आ.व. को योजना तर्जुमाको काम समेत प्रभावित हुने देखिएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै नगरपालिकाको दैनिक प्रशासनिक कामकार्य समेत नराम्ररी प्रभावित भएको विज्ञप्तिमा भनिएको छ । ‘स्थानीय सरकारले नगरवासीलाई गुणस्तरीय सेवा प्रबाहको माध्यमबाट पारदर्शि जवाफदेही हुँदै सुशासनको प्रत्याभुति गराउन सदैव अग्रसर हुनु पर्दछ । यत्तिमात्र हैन स्थानीय सरकार नागरिकहरुको सवभन्दा नजिकको सरकार भएकाले नागरिकप्रति उत्तरदायि तथा जवाफदेही बन्नै पर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

त्रियुगा नगरपालिकामा हाल देखिएको समस्याको समाधान गरि नगरको अवरुद्ध सेवा तत्काल सुचारु गर्न गराउन पनि माग गरिएको छ । ‘अहिलेको अवस्थाबाट उत्पन्न हालको समस्याका कारण नागरिकहरुमा पर्न गएको असुविधाबाट सिर्जित असहज परिस्थितिको जिम्मेवारी स्थानीय सरकारको नेतृत्वले नै लिनुपर्ने कुरा समेत स्मरण गराउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा नेकपा माओवादी केन्द्रका त्रियुगा नगर समिति अध्यक्ष मान बहादुर राई, नेपाली कांग्रेस नगर समिति सभापति प्रकाश कुमार खड्का, एकीकृत समाजवादी नगर समिति अध्यक्ष जनार्दन रेग्मी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि उद्धव अधिकारी, लोकतान्त्रीक समाजवादीका अध्यक्ष खुसीलाल ठाकुर र जनता समाजवादी पार्टी त्रियुगा नगर समिति अध्यक्ष नवराज मगरले हस्ताक्षर गरेका छन् ।