कृषि क्षेत्रलाई सरकारले दिने बजेट कम भएको कृषि मन्त्री भुषालको गुनासो
वि.सं.२०८० वैशाख १७ आइतवार १६:१५
shares

काठमाडौं, १७ वैशाख । कृषि मन्त्री बेदुराम भुषालले वर्तमान कृषि प्रक्रियालाई यान्त्रिकरण गर्नुपर्ने बताएका छन् ।
नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा अखिल नेपाल किसान महासंघको ७३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री भुषालले सरकारको नीति आयातलाई प्रतिस्थापन गर्ने भएको बताए । उनले देशको कृषि क्षेत्रमा भएको सिचाई, बाझो जमिनको र वन्य जन्तुको समस्यालाई समाधान गर्दै उत्पादन वृद्धि गर्ने हो भने देशको अर्थतन्त्रलाई सुधार गर्न सहयोग पुग्ने बताए ।
उनले भने ‘उत्पादनलाई बढाउन मात्र सके आर्थिक क्षेत्रमा विकास हुन्छ तर त्यो समस्या समाधानको लागि सिचाई, बाझो जमिनको पनि समस्या छ र वन्य जन्तुको समस्या पनि । आजको आन्दोलन कृषि क्षेत्रलाई यान्त्रिकरण गर्नुपर्ने आन्दोलन हुनुपर्छ । मानिसले मात्र गरेर अब कृषि क्षेत्रको विकास हुँदैन । कम श्रम लगाएर धेरै उत्पादन गर्ने तर्फ अगाडि बढ्नै पर्छ, त्यसले उत्पादन लागत कम भएपछि उत्पादन भएको वस्तु पनि कम मूल्यमा विक्रि हुन्छ । ’
मन्त्री भुषालले अबको नीति भनेको उत्पादन वृद्धि गर्ने आयातलाई प्रतिस्थापन गर्ने र निर्यात प्रवद्र्धन गर्ने रहेको भन्दै यसको लागि कृषि क्षेत्रलाई आवश्यक बजेट विनियोजन गर्नुपर्ने बताए । उनले कृषिमा जम्मा २ देखि ३ प्रतिशत बजेट मात्र आउने गुनासो पनि गरे । जसमा ३१ अर्ब मललाई, १२ अर्ब प्रदेशलाई र बाँकीले कर्मचारीहरुको तलब दिने बाहेक कृषि क्षेत्रको विकासको लागि रकम नरहने हुदाँ यसमा बजेट थप्नको लागि सक्दो प्रयास गरिरहेको उनको भनाई थियो । उनले कृषि शिक्षालाई पाठ्यक्रममा राख्नुपर्ने भन्दै राष्ट्रिय अर्थतन्त्रलाई सहयोग गर्न किसानका समस्याको समाधन हुनु आवश्यक भएको उल्लेख गरे ।



















