संरक्षित वन्यजन्तु गैंडाको खागसहित तीन जना पक्राउ
वि.सं.२०८० जेठ १३ शनिवार १९:२९
shares

काठमाडौं, १३ जेठ । नवलपरासी पश्चिम रामग्राम नगरपालिका–१८ धरमपुरबाट संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) जस्तो देखिने वस्तुसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका–१८ धरमपुर बस्ने ६५ वर्षीय होमबहादुर विक, ४३ वर्षीय कृष्णबहादुर महतो र ६८ वर्षीय सिखा राम थारु रहेका छन् ।
संरक्षित वन्यजन्तुको आखेटोपहार अबैध रुपमा ओसारपसार तथा खरिद बिक्री भइरहेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देही र जिल्ला प्रहरी कार्यालय नवलपरासीको समन्वयमा उनीहरूलाई उक्त वस्तुसहित पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कानूनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासीमार्फत डिभिजन वन कार्यालय नवलपरासीमा बुझाइएको छ ।

















