चोरीको आरोपमा १३ पक्राउ
वि.सं.२०८० जेठ १८ बिहीवार १८:५८
shares

काठमाडौं, १८ जेठ । धनुषा प्रहरीले अलग–अलग स्थानबाट विभिन्न मितिमा पक्राउ पारेका १३ जना चोरीका आरोपीहरुलाई सार्वजनिक गरेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार सम्मेलनमा उनीहरुलाई सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेहरु मध्ये जनकपुरधाम उपमहानगरपालिका–१६ का १३ वर्षीय आनन्द कुमार कर्ण रहेका छन् । उनीमाथि पेठिया बजारमा तरकारी किन्न आउने महिलाहरुको सिक्री चोरी गरेको आरोप लागेको छ ।
त्यस्तै, सडकमा कुरा गरिरहेको बेला हातबाट मोबाईल खोसेर भाग्दै गरेको अवस्थामा क्षीरेश्वरनाथ नगरपालिका–१० का २७ वर्षीय सुभाष कुमार दास पक्राउ परेको डिएसपी वेद प्रकाश गौत्तमले जानकारी दिए ।
त्यसैगरी सुनचाँदी गरगहना र नगद चोरी गरेको आरोपमा सर्लाही मलंगवा ८ का २३ वर्षीया मनिका साह र धनुषा सबैला नगरपालिका– २ का राजन सदालाई पक्राउ गरिएको छ । यस्तै, मनिका साह जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा आउने पर्यटक एवम् श्रद्धालुभक्तजनहरुको सुन चाँदी गहनाहरु चोरी गर्दा गर्दै पक्राउ परेकी छन् ।
त्यसैगरी, धनुषाको नगराइन– ६ बस्ने ३० वर्षीय राज कुमार दास, साईकल चोरी गरेको आरोपमा धनुषाको मिथिला विहारी नगरपालिका–१० का १८ वर्षीय रोहित कुमार मण्डल र जनकपुरधाम उपमहानगरपालिका १२ का १८ वर्षीय शनि मेस्तर पक्राउ परेका छन् ।
त्यस्तै, मोटरसाईकल चोरी गरेको आरोपमा धनुषाको कमला नगरपालिका वडा नं.८ का २१ वर्षीय मनिष कुमार कुशयत र कमला नगरपालिका वडा नं. ५ का २५ वर्षीय सुवान कुमार मरिक पक्राउ परेका छन् ।
त्यस्तै, चोरीको मोटरसाईकल खरीद गरि प्रयोग गर्दै आएको आरोपमा धनुषाको नगराईन ३ का २८ वर्षीय अजय कुमार यादव, धनुषाको कमला नगरपालिका ३ का २२ वर्षिय मनोज मुखिया पक्राउ परेका छन् ।
त्यस्तै, मोटर चोरी गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका १३ का १७ वर्षीय श्याम कुमार यादव रहेका छन । त्यस्तै, फलामको रड चोरी गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका १४ का २१ वर्षिय रविन यादव पक्राउ परेका छन् ।



















