१० प्रतिशतले बजेट बढ्यो, सुचना चुहिँदा निगम घाटामा देखि केपी ओलीले युट्युब च्यानल सब्सक्राइब गर्न भनेसम्म
वि.सं.२०८० साउन १ सोमवार ०६:००
shares

काठमाडौं, १ साउन । साताको कारोबारको पहिलो दिन आज शेयर बजार उकालो लागेको छ । आज शेयर बजारमा १२ अंकको सुधार आएको छ । आज १२ दशमलव १६ अंकले सुधार आएर शेयर बजार परिसूचक २०९७ दशमलव ०९ विन्दुमा पुगेको छ ।
आइतबार २८६ कम्पनीका ७१ लाख ८४ हजार २५४ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब ३७ करोड ६४ लाख २७ हजार ५७३ रुपैयाँको कारोबार भएको छ । त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज २ दशमलव ९० अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३९४ दशमलव १५ विन्दुमा पुगेको छ ।
अघिल्लो वर्षको तुलनामा यो वषको बजेट १० प्रतिशतले बढ्यो
चालु आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा १० प्रतिशत बढी बजेट खर्च भएको छ । आर्थिक वर्ष २०७९÷०८०को अन्तिम दिन आज आइतबार अन्तिमसम्म आइपुग्दा गत वर्षको तुलनामा एक खर्ब २८ अर्ब रूपैयाँ अर्थात १० प्रतिशतले बढी बजेट खर्च भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।
योसंगै चालु आर्थिक वर्षमा सरकारको बजेट खर्च १४ खर्ब २८ अर्ब रूपैयाँ पुगेको हो । चालु वर्षका लागि विनियोजन गरिएको रकम मध्ये कुल ७९ प्रतिशत खर्च भएको राष्ट्र बैंकले जनाएको छ ।
शिक्षा क्षेत्रमा निजी क्षेत्रको ठुलो योगदान रहेको उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको भनाई
उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले अहिलेसम्म निजी क्षेत्रको योेगादन ठुलो रहेको बताए । केन्द्रविन्दु प्लस टु एक्सिलेन्स एजुकेशन अवार्ड कार्यक्रमा उनले यस्तो बताएका हुन् । सरकारले शिक्षा क्षेत्रलाई अगाडि बढाउँने कुरा नसेमेटिएको भन्दै उनले ‘शिक्षा क्षेत्रका विषयहरुलाई सरोकारवाला निकायसम्म पुर्याउँन सधै तत्पर रहने बताए।
मूल्य घट्ने सूचना चुहिंदा उपत्यकामा इन्धनको बिक्री घट्यो, निगमलाई भयो ६५ करोडको नोक्सान
नेपाल आयल निगमबाटै इन्धनको मूल्य घट्ने सूचना चुहिएपछि व्यापारीहरुले इन्धन आयात घटाएका छन् । आइतबार साँझ मूल्य घट्ने सूचनाका कारण पम्प व्यवसायीहरुले दैनिक खरिद परिमाण घटाउँदा बागमती प्रदेश भित्र मात्रै निगमको इन्धन बिक्रीमा सावा ४ लाख लिटरले कमी आएको छ । जसका कारण निगलाई झण्डै ६५ करोड रुपैयाँ हाराहारी क्षति पुग्ने अनुमान गरिएको छ ।
निगमले आइतबारदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गर्ने सूचना चुहाएको थियो । निगमलाई हवाला दिंदै खाना पकाउने ग्याँसदेखि डिजेल, पेट्रोल र मटीतेलको मूल्य घट्ने समाचार आइतबार बिहानै बाहिरिए पछि त्यसको असर निगमकै बिक्रीमा परेको छ ।
‘केपी बा’ यूट्युब च्यानल सब्सक्राइब गर्न नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीको आह्वान
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो यूट्युब च्यान ‘केपी बा’ सब्सक्राइब गर्न अपिल गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष ओलीले यूट्युब च्यानल सब्सक्राइब गर्न अपिल गरेका हुन् ।२०५२ सालको हेलिकोप्टर दुर्घटनाबाट ज्यान जोगिएको संक्षिप्त अनुभव उल्लेख गर्दै ओलीले यूट्युब च्यानल सब्सक्राइब गर्न अपिल गरेका हुन् । चार महिनाको अवधिमा यो च्यानलमा ३० वटा भिडियो पोष्ट गर्दा पाँच हजार ६ सय जनाले सब्सक्राइब गरेका छन् ।



















