Dhulikhel Eco Banner new

बालेनले पार्किङ हटाएपछि दरबार मार्गमा चहल पहल घट्यो

7.15K
shares

काठमाडौं, २२ भदौ । सौखिनहरुका लागि सपिङ गर्ने प्रमुख गन्तब्य हो दरबार मार्ग । ब्राण्डेड सामग्री किन्नेहरुको पहिलो रोजाई दरबार मार्ग नै हुने गर्छ । सडक पेटिमा सवारी साधन राखेर पसल चहारी चहारी सामान किन्नेहरुका लागि अहिले दरबार मार्ग अलि अप्ठयारो ठाउँ हुन पुगेको छ । किनकी पहिला जस्तो अहिले सडक पेटिमै सवारी साधन राखेर पसल चाहर्न पाइदैन ।

७ वर्ष देखी दरबार मार्गमा व्यापार गर्दै आएका स्थानिय व्यवासायी पार्किङ अभावकै कारण व्यापारमा मन्दी आएको बताउछन् । आफ्नो व्यापार घटे पनि शहर सफा देखिएकोमा चित्त बुझाउनु पर्ने कुरा गरे ।

खाद्य सामग्री, पेय पदार्थको व्यापार गर्दै आएका यी व्यवसायीले बालेनले पार्किङ हटाएर राम्रो काम गरेको प्रतिक्रिया दिए । ‘सँधै यस्तै नहोला । एकदिन त ब्यापार बढिहाल्छ ।’ उनले भने ‘यी हेर्नुस् न अहिले कति सफा देखिएको छ । राजदरबार प्रष्ट देखिन्छ ।’

रेडिमेड पसलको ब्यापार कमजोर

रेडीमेड कपडालगायतका सामग्री बिक्री गर्नेहरुको व्यापार चौपट छ । पहिला पहिला एउटा सामान किन्न आउने ग्राहकहरु दुई तिन थरी सामान किनेर लैजान्थे । अहिले मान्छे आउनै चाहदैनन् । ‘पहिला पहिला एउटा सामान किन्न छिर्नेहरुले दुई तीन थरी सामान लान्थे अहिले मान्छे आउदै आउदैनन् ।’ अर्का एक व्यवसायीले भने ।

चाड आयो, ग्राहक आएनन्

चाडबाड सुरु हुने भएसंगै पसलहरुमा मान्छेको भिड लाग्थ्यो । अहिले दरबार मार्ग क्षेत्रमा व्यापार गर्नेहरुले चाड बाड आएको अनुभूति नै गर्न पाएका छैनन् । व्यापार कम भएर निराश व्यवसायीहरु धेरै बोल्न चाहदैनन् ।

काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन शाह निर्वाचित भएपछि उनले महानगर क्षेत्रमा पार्किङलाई व्यवस्थित गर्ने भन्दै सडक पेटिमा हुने पार्किङ हटाउन निर्देशन दिएका छन् ।