भिडियो हेरेर ग्राहक आउन थाले (भिडियाेसहित)
वि.सं.२०८० असोज ४ बिहीवार १२:४६
shares

काठमाडौं, ४ असोज । चाडबाड नजिकिँदै जाँदा बजारमा चहल पहल सुरु भएको छ । विभिन्न सपिङ मलमा उपभोक्ताको भिड लाग्न थालेसंगै कतिपय मल र सपिङ कम्प्लेक्समा सेल लाग्न सुरु भएको छ ।
रेडिमेड कपडा, जुत्ता, सारी, बालबालिकाको कपडा पाइने पसलहरुमा ग्राहकहरुको भिड लाग्न सुरु भएको छ । ठूला सपिङ मल मात्रै हैन साना पसलहरुमा समेत भिड बाक्लिँदै जाँदा व्यवसायी उत्साहित छन् ।
दोकानमै पुगेर कपडा छानेर अझ लगाएर फिट भएपछि मात्रै किन्ने पुरानो चलन हो । प्रविधीको प्रयोगसंगै उपभोक्ताको चाहनामा समेत परिवर्तन हुन थालेको छ । पसलबाट भन्दा अनलाइन अर्डरबाट धेरै सामान बिक्री हुने कतिपय व्यवसायीको भनाई छ ।
न्युरोडकी ‘द वान थाउजेण्ड सप’की सञ्चालिका ममताले टिक टक हेरेर आफ्नोमा ग्राहक आउन थालेको बताइन् । ‘म आफैं टिकटक चलाउछु । टिकटकमा नाँचेर भिडियो बनाउनुको साटो पसलका सामग्री देखाउछु । त्यहि हेरेर ग्राहक आउन थाल्नु भएको छ ।’ उनले भनिन् ‘सामाजिक सञ्जाल हाम्रो लागि निकै प्रभावकारी हुन थालेको छ ।’
तीज अघि राम्रै व्यापार भए पनि तीजमा व्यापार घटेको अनुभव गरेकी उनी तीजपछि व्यापार सुध्रिनेमा आशावादी छिन् ।
डान्स गरेर समय खेर फाल्दिन
ममताले ब्यापार सुरु गरेको आठ वर्ष भयो । रञ्जना ट्रेडमा अहिले होलसेल पसल छ । होलसेल गर्दा धेरै समान स्टक हुने हुन थालेपछि स्टक सामान कटाउनकै लागि उनले यो पसल खोलेकी थिइन् । उनले भने जस्तै भएको छ । होलसेलमा स्टक रहेको सामान पसलमा ल्याउछिन् र ग्राहकलाई बिक्री गर्छिन् ।
कोरोना संक्रमण अगाडी निकै राम्रो व्यापार भएको अनुभव संगालेकी यी दोकानदारले त्यसपछि मन फुकाएर व्यापार गर्न पाएकी छैनन् ।
दशैंमा राम्रो व्यापार होला भन्नेमा आशावादी छिन् । काठमाडौ महानगरपालिकाले फुटपाथको व्यापार हटाएपछि पसलको व्यापार ह्वात्तै बढ्ने अनुमान धेरैले गरेका थिए । अनुमान अनुमानमै सिमित रह्यो । सामान राम्रो भयो भने ग्राहक तेरो मेरो भन्ने हुँदैन भन्ने बुझेकी उनलाई लाग्छ ‘राम्रो सामान हुनुपर्छ ग्राहक आउछन् ।’
दोकान मात्रै हैन अहिले सामाजिक सञ्जाल टिकटक र फेशबुक पनि उनको व्यापारको प्लेटफर्म बनेको छ । उनी पनि टिकटक चलाउछिन् तर, नाँचेको भिडियो पोष्ट गर्दिनन् । नाचेको भिडियो पोष्ट गर्नु भनेको समय फोकटमा खर्च गर्नु हो जस्तो लाग्छ उनलाई । नयाँ केही सामान आउने बित्तिकै सामान सहित भिडियो खिचेर टिकटक फेशबुकमा राख्छिन् ग्राहकहरु त्यही हेरेर उनको दोकानमा आउछन् ।



















