कृषि, पर्यटन, जलविद्युतमा लगानी गर्न राष्ट्रपतिकाे आग्रह
वि.सं.२०८० कात्तिक २० सोमवार १२:१५
shares

काठमाडाैं, २० कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल कृषि, पर्यटन, जलविद्युत लगानीका लागि प्रचुर सम्भावना बोकेको देश भएकाे बताएका छन्।
एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसीआई) को संयुक्त आयोजनामा दुई दिनसम्म चल्ने ३७औँ क्यासी सम्मेलनको साेमबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो धारणा राखेका हुन् ।
“नेपालमा लगानीका क्षेत्र बढ्दै गएका छन् र लगानी सहज बनाउनका लागि कानुन निर्माण भइरहेका छन्, म कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्दछु”, राष्ट्रपति पौडेलले भने ।
राष्ट्रपति पौडेलले आर्थिक विकासको तीव्र चाहना बोकेको हाम्रो देशमा रहेको कृषि, जलस्रोत, पर्यटनजस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तर्राष्ट्रिय जगतसँंग जोड्न लगानी र व्यापारका क्षेत्रमा धेरै अवसर रहेको धारणा व्यक्त गरे ।
“नेपाली विद्युत्को बजार अब भारत र बङ्गलादेश पनि बन्दैछ, विद्युत् व्यापारका क्षेत्रमा पछिल्ला दिनमा भएका प्रगतिले जलविद्युत्मा लगानी गर्न चाहने उद्यमीका लागि महत्वपूर्ण अवसर खुलेको छ । म नेपालको जलविद्युत्को क्षेत्रमा लगानी गर्न तपाईंहरू सबैलाई आह्वान गर्दछु”, उनले भने ।
उनले साना र मझौला उद्यम हाम्रो अर्थतन्त्रको मेरुदण्ड भएको धारणा राखे । “आधुनिक युगमा दिगोपन एक शब्दजाल मात्र होइन, यो हाम्रो भविष्यको आधारशीला पनि हो । साना र मझौला उद्यम अर्थतन्त्रका मेरुदण्ड हुन् । तिनीहरूले वृद्धि, नवीनता र रोजगारी सिर्जना गर्छन्”, उनले भने।
राष्ट्रपति पौडेलले दिगो उद्यमशीलता र व्यापार वास्तवमै समृद्ध र दिगो भविष्यका आधारशिला र अर्थतन्त्रको महत्वपूर्ण हिस्सा भएको बताए । “यसले आर्थिक वृद्धिलाई मात्र होइन, सीमापार सम्बन्ध निर्माण र कायम राख्न ऊर्जा प्रदान गर्दछन्”, राष्ट्रपति पौडेलले भने, “व्यवसाय क्षेत्रका सङ्गठनहरुले व्यापार सहज बनाउन प्रदान गर्ने मध्यस्थता, प्रक्रियाको डिजिटलाइजेसन र सञ्जालीय अवसरलगायतका सेवा व्यवसायलाई संसारसँग जोड्ने औँजार हुन् ।”



















