म्याग्दीका दुई पालिकामा आधारभूत अस्पताल भवन अलपत्र
वि.सं.२०८० पुस १९ बिहीवार १३:४७
shares

बेनी, १९ पुस । म्याग्दीमा निर्माणाधीन दुई आधारभूत अस्पताल अलपत्र परेका छन् । ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’योजनाअन्तर्गत मङ्गला र धौलागिरि गाउँपालिकामा निर्माण सुरु भएका दुई अस्पताल भवनको काम निर्माण व्यवसायीले ढिलासुस्ती गरेपछि अलपत्र परेका हुन् ।
धौलागिरि-७ ताकममा पाँच र मङ्गला-५ हाँडेभिरमा १० शय्या क्षमताको आधारभूत अस्पताल २०७७ सालमा शिलान्यास गरिएको थियो । निर्माण व्यवसायीले भवन निर्माणको काम रोकेपछि यहाँका दुवै अस्पताल योजना अधुरो बनेको हो ।
ताकममा निर्माणाधीन अस्पतालको जिम्मा लिएको आइएस एसी जेभी बुर्तिबाङ बागलुङले भुईँ ढलान गरेर पिल्लर मात्रै उठाएर कामलाई अधकल्चे बनाएको धौलागिरि-७ का वडाध्यक्ष अशोक खत्रीले बताए ।
‘स्थानीयस्तरमा कुनै विवाद र समस्या छैन, निर्माण व्यवसायीलाई काममा फर्कन पटकपटक आग्रह गरेका छौँ, केही दिनमै काममा फर्कने प्रतिबद्धता आएको छ’, उनले भने । ताकममा अस्पताल भवन बनाउन रु चार करोड ८८ लाख ७२ हजार एक सय ३२ मा ठेक्का सम्झौता भएको थियो । निर्धारित मिति २०७९ जेठ २५ भित्र भवन निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म अस्पताल भवनको २० प्रतिशत भौतिक प्रगति भएको छ ।
मङ्गला गाउँपालिकामा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन अलपत्र परेपछि निर्माण व्यवसायीलाई ताकेता गरिएको छ । ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण यहाँको अस्पताल भवन विगत डेढ वर्षदेखि अलपत्र अवस्थामा छ । भवनको र्याप फाउन्डेसन तयार पारी पिल्लर उठाएर छाडिएको यस योजनाको जम्मा १० प्रतिशत भौतिक प्रगति भएको छ ।
पिल्लरको संरचना ठडाएर छाडिएको छ भने रडमा खिया लागेको छ । अस्पताल भवन निर्माणका लागि पालिकाले ओमबुद्ध इन्टरनेसनल कन्स्ट्रक्सन काठमाडौँसँग दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी २०७८ असारमा रु नौ करोड ११ लाखमा ठेक्का सम्झौता भएको थियो ।
मुख्य ठेकेदारले योजनाको काम गर्न अर्को पेटी ठेक्का लगाएको र उनीहरुबीचको आन्तरिक विवादले योजना नै अलपत्र परेको गाउँपालिकाका असिस्टेन्ट सब–इन्जिनियर नगेन्द्र सापकोटाले जानकारी दिए ।
पालिकाले पटकपटक पत्राचार गरेपछि मुख्य ठेकेदार दिपेश लामा सम्पर्कमा आएर भवन बनाउने प्रतिबद्धता व्यक्त गरेको उनले बताए । यस भवनको आगामी असार मसान्तसम्म ठेक्का सम्झौताको म्याद थप भएको छ ।
पालिकाको अस्पताल भवनलाई सम्पन्न गराउन निरन्तर ताकेता गरेको र मुख्य ठेकेदार नै पालिकामा आएर केही दिनमै काम अघि बढाउने प्रतिबद्धता जनाएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए ।
मङ्गलामा आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्पप्रतिरोधी क्षमताको ३५ कोठा भएको अपाङ्गमैत्री अस्पताल भवन निर्माण हुनेछ ।
जिल्लाको मालिका गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर आधारभूत अस्पतालको रूपमा सञ्चालनमा ल्याएको छ । दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा भौतिक पूर्वाधार, मेसिन उपकरण, जनशक्तिलगायतको बन्दोबस्त गरेर पाँच शय्याको अस्पताल सञ्चालनमा ल्याइएको छ ।
म्याग्दीमा अन्नपूर्ण गाउँपालिकाले वडा नम्बर १ दोबामा पाँच शय्याको अस्पताल भवन निर्माण सम्पन्न गरेको छ भने रघुगङ्गा गाउँपालिकामा वडा नम्बर १ बेगमा निर्माण हुने भनिएको अस्पताल योजना विवाद र जग्गा व्यवस्थापनको समस्याले अझै शिलान्यास हुन सकेको छैन ।













