Dhulikhel Eco Banner new

सार्वजनिक खरिदमा अनियमितता, पाँच निर्माण कम्पनी कालोसूचीमा

3.37K
shares

काठमाडौं, १४ पुस । सार्वजनिक खरिद प्रक्रियामा मापदण्ड पूरा नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । यस क्रममा ऊर्जा क्षेत्रका पूर्व राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) सँग सम्बन्धित कान्छाराम कन्स्ट्रक्सनलाई डेढ वर्षका लागि कालोसूचीमा समावेश गरिएको छ ।

ग्रामीण सडक सञ्जाल सुधार आयोजना अन्तर्गत आयोजना समन्वय एकाइ, ललितपुरको सिफारिसमा उक्त कम्पनीमाथि कारबाही गरिएको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार पुस १३ गते निर्णय भई पुस १४ गतेदेखि कालोसूचीको अवधि लागू भएको छ ।

कारबाहीको सूचीमा चीनको छोङ्गिङ इन्टरनेसनल कन्स्ट्रक्सन कर्पोरेसन पनि परेको छ, जसलाई पनि समान अवधिका लागि कालोसूचीमा राखिएको छ । यस्तै, नेपाल खानेपानी संस्थान पोखरा शाखाको सिफारिसमा ड्रैगन कन्स्ट्रक्सन प्रालि धनुषा डेढ वर्षका लागि सरकारी ठेक्काबाट वञ्चित भएको छ ।

यसका अतिरिक्त रौतामाई गाउँपालिका उदयपुरको सिफारिसमा सिङ्दान सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालि धनुषा तथा विशाल निर्माण सेवा सिन्धुपाल्चोकलाई एक–एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

सार्वजनिक निकायका अनुसार तोकिएको मापदण्ड उल्लङ्घन गर्ने ठेकेदार तथा निर्माण कम्पनीमाथि कडाइ गर्ने नीति अनुरूप यस्ता निर्णयहरू लिइएको हो ।