Dhulikhel Eco Banner new

२५ अर्ब रुपैयाँको नेपाल राष्ट्र बैंक ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

6.36K
shares

काठमाडौं, १४ पुस । तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आज (पुस १४) खुला बजार कारोबारअन्तर्गत २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले एक वर्ष अवधिको ऋणपत्र बोलकबोल प्रणालीमार्फत बिक्री गर्न लागेको हो ।

मौद्रिक व्यवस्थापन विभागका अनुसार ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ क’ शीर्षकको उक्त उपकरणका लागि आज दिउँसो २ बजेसम्म बैंक तथा वित्तीय संस्थाले अनलाइन प्रणालीबाट दर प्रस्ताव गर्न सक्नेछन् । सोही दिन ऋणपत्र निष्कासन हुने व्यवस्था गरिएको छ ।

ऋणपत्रको ब्याजदर बजारमै निर्धारण हुने र ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ । परिपक्व मिति २०८३ पुस १४ तोकिएको छ ।

राष्ट्र बैंकले न्यूनतम ५ करोड रुपैयाँदेखि २५ अर्ब रुपैयाँसम्म, ५ करोडको गुणकमा बोल गर्न सकिने व्यवस्था गरेको छ । जारी हुने ऋणपत्र बैंक तथा वित्तीय संस्थाले धितोको रूपमा पनि प्रयोग गर्न पाउने छन् ।

यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई मात्र सहभागी गराइनेछ । स्वीकृत रकम आजै सम्बन्धित संस्थाको राष्ट्र बैंक खाताबाट कट्टा गरिनेछ ।

राष्ट्र बैंकले बोल स्वीकृत भए पनि खातामा रकम अभाव भएमा २.५ प्रतिशत जरिवानासहित ६ महिनासम्म यस्ता कारोबारमा सहभागी हुन नपाउने स्पष्ट पारेको छ ।

राष्ट्र बैंकका अनुसार ऋणपत्र परिपक्व हुनुअघि फिर्ता नहुनेछ भने यसमा गरिएको लगानी अनिवार्य नगद मौज्दातमा गणना हुने छैन ।