अन्तरवार्ताबाट सिधै ब्रोकर लाइसेन्स, २ करोड पुँजी भए पुग्ने
वि.सं.२०७९ असार १२ आइतवार २०:०३
shares

काठमाडौं, १२ असार । आफू निकट व्यापारीक समूहका कम्पनीहरुलाई बोलाएर स्टक ब्रोकर कम्पनी सञ्चालनका लागि अनुमति दिने गरी नेपाल धितोपत्र बोर्डले तयारी सुरु गरेको छ । नेपाल स्टक एक्सचेञ्जले कार्यविधिको मस्यौदा तयार पारेर अर्थमन्त्रालयमा सुटुक्क पठाएको थियो । अर्थमन्त्रालयबाट ‘ओके’ भनिसकिएको र अब लाइसेन्सका लागि आवश्यक तयारी सुरु गरिने धितोपत्र बोर्ड श्रोतले बताएको छ ।
कार्यविधि भने सहजै तरिकाले लाइसेन्स दिन सकिने गरी तयार गरिएको छ । श्रोतका अनुसार केही साताभित्रै लाइसेन्सका लागि आवेदन आह्वान गर्ने बोर्डको तयारी छ । आवेदन आह्वान गर्ने र अन्तरवार्ता लिने गरी कार्यविधि बनाइएको छ ।
‘अन्तरवार्ता लिने भनेको खुलेआम आफू निकटकालाई लाइसेन्स दिने भन्ने तयारी हो’ बोर्डका एक हाकिमले भने, ‘हामी पदमा भएकाले बोल्न मिलेन, यो त खुलेआम नै मनपरी गरेको भन्ने क्लियर नै देखियो ।’
कार्यविधि अनुसार अब २ करोड रुपैयाँ चुक्ता पुँजी भए लाइसेन्स दिन सकिने छ । यस अघि २० करोड चुक्ता पुँजी तोक्ने तयारी गरिएको थियो । धितोपत्र दलाल व्यवसायी सम्बन्धी नियमावलीमा न्युनतम २ करोड रुपैयाँ भए पुग्ने उल्लेख गरिएकाले चुक्ता पुँजी समेत घटाउने तयारी गरिएको हो ।
बोर्डका उपकार्यकारी निर्देशक रुपेस केसीले भने बोर्डमा कार्यविधिको मस्यौदा आइनपुगेको बताएका छन् । उनले अर्थमा गएको विषयमा भने आफूलाई जानकारी नहुने प्रतिक्रिया दिए । उता कार्यविधि बनाउने जिम्मा पाएको नेप्सेका प्रवक्ता मुराहरी पराजुली पनि कार्यविधि बनाउने तयारी भएको तर मस्यौदा तयार नभएको बताउछन् । अर्थमन्त्रालयमा पठाएको भन्ने कुरा भने गलत भएको उनको दावी छ ।


















