Dhulikhel Eco Banner new

निजी क्षेत्रमा कर्जा प्रवाह १.९ प्रतिशतले बढ्यो

5.93K
shares

काठमाडौं, २५ पुस । नेपालमा सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.९ प्रतिशतले वृद्धि भई ५५ खर्ब ९९ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको समीक्षा अवधिमा निजी क्षेत्रमा कर्जा प्रवाह बढेको हो।

वार्षिक विन्दुगत आधारमा २०८२ मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.६ प्रतिशतले वृद्धि भएको छ। समीक्षा अवधिमा निजी क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३७.३ प्रतिशत कर्जा गएको राष्ट्र बैंकले जनाएको छ।

यस अवधिमा वाणिज्य बैंकहरूको निजी क्षेत्रतर्फको कर्जा प्रवाह २.० प्रतिशतले बढेको छ भने विकास बैंकहरूको ०.८ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा प्रवाह १.२ प्रतिशतले वृद्धि भएको छ।

क्षेत्रगत आधारमा हेर्दा चालु आर्थिक वर्षको पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूको कर्जामध्ये निर्माण क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशत, उपभोग्य क्षेत्रतर्फको कर्जा ५.१ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ३.५ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २.५ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.४ प्रतिशतले बढेको छ।

यद्यपि, कृषि क्षेत्रतर्फको कर्जा तथा वित्त, बीमा र अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा भने २.२ प्रतिशतले घटेको छ।

कर्जाका प्रकारअनुसार हायर पर्चेज कर्जा ६.१ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ५.७ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.७ प्रतिशत, क्यास क्रेडिट कर्जा २.६ प्रतिशत, आवधिक कर्जा १.२ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा १.० प्रतिशत र ट्रष्ट रिसिट (आयात) कर्जा ०.९ प्रतिशतले बढेको छ। यस अवधिमा अधिविकर्ष कर्जा भने ५.४ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ।