पाँच महिनामा निर्यात ५८.२ प्रतिशतले वृद्धि, व्यापार घाटा ६ खर्ब ४९ अर्ब नाघ्यो
वि.सं.२०८२ पुस २५ शुक्रवार १५:२१
shares

काठमाडौं, २५ पुस । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालको कुल वस्तु निर्यात ५८.२ प्रतिशतले वृद्धि भई १ खर्ब १६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिमा निर्यात वृद्धिदर १६.५ प्रतिशत मात्र रहेको थियो।
गन्तव्य मुलुकका आधारमा भारततर्फको निर्यात ८२.७ प्रतिशतले र अन्य मुलुकतर्फको निर्यात ५.५ प्रतिशतले बढेको छ भने चीनतर्फको निर्यातमा ७३.३ प्रतिशतले उल्लेखनीय गिरावट आएको छ।
वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामग्री, जुत्ता तथा चप्पललगायतका वस्तुको निर्यात बढेको छ। यद्यपि, जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा तथा हस्तकलाका सामग्रीको निर्यात भने घटेको छ।
यसै अवधिमा कुल वस्तु आयात १५.८ प्रतिशतले वृद्धि भई ७६६ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा आयात वृद्धिदर ३।० प्रतिशत रहेको थियो। आयात हुने मुलुकका आधारमा भारतबाट ५.७ प्रतिशत, चीनबाट २४.६ प्रतिशत र अन्य मुलुकबाट ४०.८ प्रतिशतले आयात बढेको छ।
वस्तुगत रूपमा भटमासको कच्चा तेल, रासायनिक मल, सुन, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस् र चाँदीको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, लसुन, खाने तेल, तेलहन र दालको आयात घटेको राष्ट्र बैंकले जनाएको छ।
पाँच महिनाको अवधिमा कुल वस्तु व्यापार घाटा १०.५ प्रतिशतले वृद्धि भई ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा १.५ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात १५.२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ११.१ प्रतिशत रहेको थियो।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ६९ अर्ब ४५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७२ अर्ब ८४ करोड रुपैयाँ बराबरको थियो।
कुल निर्यातमा अन्तिम उपभोग्य वस्तुको हिस्सा ६९.८ प्रतिशत, मध्यवर्ती वस्तुको २९.६ प्रतिशत र पुँजीगत वस्तुको ०.६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी अनुपात क्रमशः ५५.० प्रतिशत, ४४.१ प्रतिशत र ०.९ प्रतिशत रहेका थिए।



















