पाल्पा सिमेन्टको आईपीओमा आवेदन म्याद माघ ११ गतेसम्म थप
वि.सं.२०८२ माघ ९ शुक्रवार १०:२०
shares

काठमाडौं, ९ माघ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने म्याद थप गरेको छ। मागभन्दा कम आवेदन परेपछि कम्पनीले यसअघि पुष २५ गतेदेखि खुला गरिएको आईपीओमा आवेदन दिने म्याद माघ ११ गतेसम्म लम्ब्याएको हो।
कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत बराबरको ७५ करोड रुपैयाँ मूल्यको ७५ लाख कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। यसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ७५ हजार कित्ता शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरिएको हो।
उक्त शेयर पश्चिम नवलपरासी (साविक नवलपरासी जिल्ला) तथा खानी रहेको क्षेत्र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूले आवेदन दिन पाउनेछन्।
आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
आईपीओ निष्कासन प्रयोजनका लागि गरिएको क्रेडिट रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।



















