Dhulikhel Eco Banner new

मुक्तिनाथ विकास बैंकको नाफामा उछाल, ६ महिनामा ६७ करोड बढी कमाइ

2.8K
shares

काठमाडौं, १५ माघ । वाणिज्य बैंकमा रूपान्तरणको तयारीमा रहेको मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म उल्लेख्य नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नाफासहित अधिकांश वित्तीय सूचकहरूमा सुधार देखिएको हो।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले ६७ करोड २० लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.५७ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको ६ महिनामा बैंकले ५० करोड ३१ लाख २२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ८.१४ प्रतिशतले वृद्धि हुँदै २ अर्ब ३७ करोड २८ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब १९ करोड ४१ लाख रुपैयाँ रहेको थियो।

त्यस्तै, बैंकको सञ्चालन नाफा उल्लेख्य रूपमा बढेको छ। गत आर्थिक वर्षको पुष मसान्तसम्म ७१ करोड ८५ लाख रुपैयाँ रहेको सञ्चालन नाफा समीक्षा अवधिमा बढेर ९७ करोड १ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा २० करोड ९० लाख रुपैयाँ सञ्चित रहेको छ। यद्यपि, बैंकको वितरणयोग्य मुनाफा भने ५४ करोड रुपैयाँबाट घटेर १९ करोड ५२ लाख रुपैयाँमा सीमित भएको छ।

कर्जा गुणस्तरमा पनि सुधार देखिएको छ। पुष मसान्तसम्म बैंकको खराब कर्जा अनुपात ३.९८ प्रतिशतबाट घटेर ३.७५ प्रतिशतमा झरेको छ। बैंकको प्रतिशेयर आम्दानी १६.८० रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १५१.३५ रुपैयाँ पुगेको छ।

वित्तीय सूचकहरूमा देखिएको यो सुधारले मुक्तिनाथ विकास बैंकको वाणिज्य बैंक बन्ने लक्ष्यतर्फको यात्रालाई थप बलियो बनाएको देखिन्छ।