Dhulikhel Eco Banner new

राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

2.43K
shares

काठमाडौं, ४ फागुन । नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। एक वर्ष अवधिका लागि उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपका रूपमा राख्न लागिएको बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंक ले इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई दरखास्त आह्वान गरेको छ। बैंकहरूले १० फागुन २०८२ बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म आवेदन दिन सक्नेछन्।

राष्ट्र बैंकका अनुसार कुल रकममध्ये वाणिज्य बैंकहरूका लागि ७ अर्ब ४८ करोड रुपैयाँ, विकास बैंकहरूका लागि १ अर्ब ४० करोड २५ लाख रुपैयाँ तथा राष्ट्रियस्तरका वित्त कम्पनीहरूका लागि ४६ करोड ७५ लाख रुपैयाँ छुट्याइएको छ।

निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरूका लागि विभिन्न सर्त तोकिएका छन्। कुल निक्षेपको ८ प्रतिशतभन्दा बढी निष्क्रिय कर्जा ९एनपीएल० हुन नहुने व्यवस्था गरिएको छ। साथै, कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको, तोकिएको न्यूनतम कुल पुँजीकोष कायम गरेको, राष्ट्र बैंकले निर्धारण गरेको खुद तरल सम्पत्ति अनुपात र कर्जा–निक्षेप अनुपात सीमा भित्र रहेको हुनुपर्नेछ।

त्यस्तै, निकटतम अघिल्लो आर्थिक वर्षको नाफा–नोक्सान हिसाब अनुसार खुद मुनाफामा रहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने सर्त राखिएको छ।

यसैगरी, नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको वा घोषणा भएको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने, सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने लगायतका प्रावधान पनि तोकिएका छन्।

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको रकम सुरक्षित र प्रतिस्पर्धी प्रतिफल सुनिश्चित गर्ने उद्देश्यले यस्तो निक्षेप लगानी प्रक्रिया अघि बढाएको जनाएको छ।