कम गुणस्तरको दूध उत्पादन गरेको भन्दै सीताराम मिल्क्समाथि कारबाही
वि.सं.२०८२ चैत ३ मंगलवार १४:००
shares

काठमाडौं, ३ चैत । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मापदण्डभन्दा कम गुणस्तरको दूध उत्पादन गरेको पाइएपछि सीताराम गोकुल मिल्क्समाथि कारबाही गरेको छ। विभागले उक्त डेरीको प्रशोधित दूध बिक्री वितरणमा रोक लगाएको जनाएको छ।
नियमित अनुगमनका क्रममा कीर्तिपुरस्थित डेरीले उत्पादन गरेको दूधमा तोकिएकोभन्दा कम चिल्लो पदार्थ (फ्याट) भेटिएको विभागले जनाएको छ। परीक्षणमा उक्त दूधमा फ्याटको मात्रा १.४ प्रतिशत मात्रै रहेको पाइएको छ, जबकि न्यूनतम मापदण्ड ३.० प्रतिशत हुनुपर्ने व्यवस्था छ।
मापदण्डविपरीत उत्पादन तथा बिक्री वितरण गरेको पुष्टि भएपछि विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कारबाही प्रक्रिया अघि बढाएको छ। साथै, बिक्रीका लागि तयारी अवस्थामा रहेको ४९९ क्रेट दूध बजारमा पठाउन रोक लगाइएको छ।
विभागका अनुसार प्रत्येक क्रेटमा ५०० मिलिलिटरका २० पोका दूध रहेका छन्। थप अनुसन्धानका लागि नमूना संकलन गरी प्रयोगशालामा पठाइएको छ।
उक्त दूधको उत्पादन मिति २०८२ फागुन २ गते र ब्याच नम्बर २८६६९ रहेको विभागकी प्रवक्ता बालकुमारी शर्माले जानकारी दिइन्।
विभागले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित खाद्य पदार्थको गुणस्तरमा कुनै सम्झौता नगर्ने स्पष्ट गर्दै यस्ता अनुगमनलाई निरन्तरता दिने जनाएको छ।















