राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘स्मार्ट मनी टक्स’ कार्यक्रम सम्पन्न
वि.सं.२०८२ चैत ८ आइतवार १४:१०
shares

काठमाडौं, ८ चैत । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘ग्लोबल मनि विक २०२६’ को अवसरमा शुक्रबार ‘स्मार्ट मनी टक्स’ कार्यक्रम सम्पन्न गरेको छ।
रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालय, नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले वित्तीय साक्षरता विद्यालय तहदेखि नै आवश्यक रहेको बताएका छन्।
उनले पैसाको उचित व्यवस्थापन र व्यवस्थित प्रयोगका लागि सचेतना अभिवृद्धि गर्न सके प्रत्येक व्यक्तिले आफ्नो आम्दानीलाई प्रभावकारी रूपमा सदुपयोग गर्दै बढी लाभ लिन सक्ने बताए।
कार्यक्रममा बोल्दै खनालले युवा तथा विद्यार्थीहरूले वित्तीय क्षेत्रका विषयमा बढी जानकारी राख्नुपर्ने आवश्यकता औँल्याउँदै बैंकले यस विषयलाई निरन्तर प्राथमिकतामा राख्दै आएको स्पष्ट पारे। सूचना प्रविधिको बढ्दो प्रयोगसँगै वित्तीय क्षेत्रमा चुनौती पनि थपिँदै गएको उल्लेख गर्दै उनले यसतर्फ देशव्यापी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।
उनले अपरिचित व्यक्ति वा नम्बरबाट आउने फोन, एसएमएस तथा सामाजिक सञ्जालमा आएका शंकास्पद लिंक नखोल्न र “सहजै पैसा दिने” भन्ने प्रलोभनमा नपर्न सबैलाई आग्रह गरे। साथै, सुरुमा सानो रकम वा उपहार दिएर पछि ठूलो रकम माग्ने जस्ता ठगी प्रवृत्तिबाट सचेत रहन पनि उनले सुझाव दिए।
विद्यार्थीहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा उनले वित्तीय साक्षरता विद्यालयबाटै सुरु भई घरघरमा विस्तार हुनुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीले स्वागत मन्तव्य राखेका थिए। साथै विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद भट्ट, बैंकका उपकार्यकारी अधिकृतहरू विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल र रामकुमार थापा तथा विभागीय प्रमुखहरू आनन्द सुवेदी, सचिनकुमार श्रेष्ठ र उभार पाण्डे लगायतको सहभागिता रहेको थियो।
बैंकले ‘ग्लोबल मनि विक’ को अवसरमा देशव्यापी रूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्ने सामाजिक तथा सामुदायिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यो सप्ताह हरेक वर्ष मार्च १६ देखि २२ सम्म विश्वभर मनाइन्छ।















