वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सोपान फर्मास्युटिकल्सको आईपीओमा आज अन्तिम दिन
वि.सं.२०८२ चैत १२ बिहीवार १०:३८
shares

काठमाडौं, १२ चैत । सोपान फर्मास्युटिकल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले चैत ९ गतेदेखि पहिलो चरणअन्तर्गत आईपीओ बिक्री खुला गरेको हो।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट फागुन १७ गते अनुमति पाएअनुसार प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ४२ लाख ९० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो। यसमध्ये पहिलो चरणमा ४ लाख २९ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ।
सोपान फर्मास्युटिकल्सले कुल निष्काशनमध्ये २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूका लागि र १ लाख ७१ हजार ६०० कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरेको छ। बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि दोस्रो चरणमा निष्काशन गरिने कम्पनीले जनाएको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। इच्छुक आवेदकहरूले आज बैंकिङ समयभित्रै आवेदन दिइसक्नुपर्नेछ।
उक्त आईपीओको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले सम्हालेको छ।



















