Dhulikhel Eco Banner new

मोबाइल नम्बर परिवर्तन गरी खाताबाट १ करोड ६५ लाख हिनामिना गर्ने बैंक कर्मचारी पक्राउ

5.51K
shares

काठमाडौं, १७ चैत । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ करोड ६५ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा बैंककै एक कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा कपिलवस्तुको तौलिहवा शाखामा कार्यरत रिशभ कार्की रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता रिपेन्द्र कुमार सिंहका अनुसार कार्कीले बैंकको आन्तरिक प्रणालीमा अनधिकृत रूपमा प्रवेश गरी विभिन्न ग्राहकका खातासँग जोडिएका मोबाइल नम्बर परिवर्तन गरेका थिए।

प्रारम्भिक अनुसन्धानबाट उनले आफ्नै प्रयोगमा रहेको मोबाइल नम्बर ती खातामा जोडेर मोबाइल बैंकिङ सेवा तथा कनेक्ट आईपीएसमार्फत रकम स्थानान्तरण गरेको खुलेको छ। यसरी उनले विभिन्न ग्राहकका खाताबाट कुल १ करोड ६५ लाख रुपैयाँ अनधिकृत रूपमा ट्रान्सफर गरी हिनामिना गरेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरी टोलीले उनलाई कपिलवस्तुको मायादेवी गाउँपालिकाबाट पक्राउ गरेको हो। उनलाई बैंकिङ कसुर सम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ।

घटनापछि प्रहरीले सर्वसाधारणलाई आफ्ना बैंक खातासँग जोडिएका मोबाइल नम्बर र मोबाइल बैंकिङ सेवाको सुरक्षा सुनिश्चित गर्न सचेत रहन आग्रह गरेको छ।