युनियन हाइड्रोपावरको विशेष साधारण सभा वैशाख ६ मा
हकप्रद र संरचनागत परिवर्तन प्रस्ताव अघि बढ्ने
वि.सं.२०८२ चैत २२ आइतवार ०७:१२
shares

काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेड ले आगामी वैशाख ६ गते विशेष साधारण सभा बोलाएको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार सभा बिहान ११ बजे ललितपुरको धोबीघाटस्थित स्थलमा आयोजना हुने र अनलाइन माध्यमबाट पनि सहभागी हुन सकिने व्यवस्था गरिएको छ।
सभामा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दै नाम परिवर्तन गर्ने तथा नयाँ उद्देश्य थप्ने प्रस्ताव प्रस्तुत गरिनेछ। यससँगै हकप्रद शेयर निष्कासन सम्बन्धी विषय पनि प्रमुख एजेन्डामा समावेश गरिएको कम्पनीले जनाएको छ। अन्य आवश्यक निर्णयका लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव समेत छलफलमा रहनेछ।
शेयरधनीको सहभागिता सहज बनाउन कम्पनीले भौतिक उपस्थितिसँगै भर्चुअल सहभागिताको विकल्प दिएको छ। अनलाइनबाट सहभागी हुन चाहनेहरूले बैठकअघि आवश्यक लगइन विवरण कम्पनीसँग समन्वय गरेर प्राप्त गर्नुपर्नेछ।
सभामा उपस्थित हुन चाहने शेयरधनीहरूले आफ्नो पहिचान खुल्ने कागजात वा डिम्याट विवरण अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ। प्रतिनिधिमार्फत सहभागिता जनाउन चाहनेहरूले कानुनी प्रावधानअनुसार प्रोक्सी फाराम भरी समयमै दर्ता गराउनुपर्ने व्यवस्था गरिएको छ।
विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २६ गते एक दिनका लागि शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ। सो मितिसम्म कायम रहेका शेयरधनीहरू मात्र सभामा सहभागी हुन पाउनेछन्।

















