याम्बालिङ्ग हाइड्रोको स्थानीय सेयरमा चासो कमजोर, आवेदन अवधि वैशाख ७ सम्म बढाइयो
७ लाख कित्ता अझै खुला
वि.सं.२०८२ चैत २२ आइतवार ०७:२८
shares

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेड ले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गर्दै खुला गरेको प्राथमिक सेयर (आईपीओ) मा अपेक्षित माग नदेखिएपछि आवेदन दिने समय थप गरेको छ। कम्पनीले अब उक्त सेयरमा वैशाख ७ गतेसम्म आवेदन दिन सकिने जानकारी दिएको छ।
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाका विभिन्न वडाका स्थानीयलाई लक्षित गर्दै कम्पनीले ७ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो। प्रतिकित्ता १०० रुपैयाँ दर कायम गरिएको यस निष्काशनमा न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
कम्पनीका अनुसार तोकिएको समयभित्र आवश्यक संख्यामा आवेदन नपुगेपछि अवधि थपिएको हो। यद्यपि, माग अनुसार पूर्ण आवेदन प्राप्त भएमा तोकिएको नयाँ म्यादअघि नै बिक्री प्रक्रिया बन्द गर्न सकिने उल्लेख गरिएको छ।
७.२७ मेगावाट क्षमताको जलविद्युत आयोजना विकास गरिरहेको कम्पनीको कुल लागत करिब १ अर्ब ८७ करोड रुपैयाँ रहेको छ। आयोजनाको उत्पादन अनुमतिपत्र अझै २५ वर्षभन्दा बढी समयका लागि कायम रहेको कम्पनीले जनाएको छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक Muktinath Capital Limited रहेको छ। स्थानीय बासिन्दाले तोकिएका बैंक तथा संकलन केन्द्रमार्फत आवेदन दिन सक्नेछन् भने आवश्यक परेमा आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

















