Dhulikhel Eco Banner new

बैतडीमा करिब २१ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

936
shares

काठमाडौं, २९ चैत । बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिका–४, हल्दुविनायकमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा भन्सार छलीका सामान बरामद गरेको छ। बरामद गरिएको सामानको मूल्य करिब २१ लाख आठ हजार आठ सय दश रुपैयाँ रहेको बताइएको छ।

सशस्त्र प्रहरीको मोबाइल टोलीले आज बिहान करिब ३ बजे भारतबाट अवैध रूपमा ल्याइएका सामानसहित दुई वटा सवारीसाधन नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका सवारीसाधनमा एक बोलेरो पिकअप र एक ट्याक्टर रहेका छन्।

बरामद सामानमा करिब २३ क्विन्टल चिनी, ५ क्विन्टल मिश्री तथा अन्य किराना सामग्री रहेका छन्। गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी निरीक्षक रमेशप्रसाद पाण्डेयको नेतृत्वमा टोलीले छापा मारेको हो।

प्रहरीका अनुसार भन्सार छलीका सामान ल्याउने समूह प्रहरी देख्नेबित्तिकै फरार भएको थियो। बरामद सामान तथा सवारीसाधन आवश्यक कारबाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाटमा बुझाइएको छ।