सोपान फर्मास्यूटिकल्सको आईपीओ आजदेखि खुला
सर्वसाधारणलाई ३४ लाखभन्दा बढी कित्ता शेयर उपलब्ध
वि.सं.२०८३ वैशाख ३ बिहीवार ०७:५१
shares

काठमाडौँ । सोपान फर्मास्यूटिकल्स लिमिटेडले आज (बैशाख ३ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ जारी गरेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबर ४२ करोड ९० लाख रुपैयाँको आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो । यसमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएर बाँडफाँट गरिसकिएको छ ।
त्यसैगरी, कम्पनीले १ लाख ७१ हजार ६०० कित्ता शेयर कर्मचारीहरूका लागि तथा २ लाख १४ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि समेत सुरक्षित गरी बाँडफाँट गरिसकेको जनाएको छ ।
अब दोस्रो चरणअन्तर्गत बाँकी रहेको ३४ करोड ७४ लाख ९० हजार रुपैयाँ बराबरको ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरिएको हो । उक्त शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ कायम गरिएको छ ।
कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले बैशाख ८ गतेसम्म सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ प्रणाली तथा सि–आस्बा सेवा उपलब्ध बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
कम्पनीको आईपीओले औषधि उत्पादन क्षेत्रप्रति लगानीकर्ताको आकर्षण बढ्ने अपेक्षा गरिएको छ भने पछिल्लो समय प्राथमिक बजारमा देखिएको सक्रियताले यसमा पनि उल्लेख्य आवेदन पर्ने अनुमान गरिएको छ ।


















