पनौतीमा ओजोन प्रविधिसहित ‘फुड बैंक’ सञ्चालनमा, सुरक्षित खाद्य प्रणालीतर्फ नयाँ पहल
ktm voice
वि.सं.२०८३ वैशाख ५ शनिवार १९:१९
624 shares
काभ्रेपलाञ्चोकको पनौतीमा आधुनिक प्रविधिमा आधारित ‘फुड बैंक’ सेवा औपचारिक रूपमा सुरु भएको छ। आर.के.सी.एन.एल फुड बैंक लिमिटेड र राष्ट्रिय कृषि कम्पनी लिमिटेड को सहकार्यमा स्थापना गरिएको उक्त परियोजनाको शनिबार विशेष कार्यक्रमबीच उद्घाटन गरिएको हो। पनौती–०४, ठाडोबाटो (पुलिस एकेडेमीको अगाडि) मा सञ्चालनमा आएको यस केन्द्रले स्थानीय स्तरमै सुरक्षित खाद्य आपूर्ति प्रणाली विकास गर्ने लक्ष्य राखेको छ।
उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कृषि तथा व्यवसायिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरू र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममार्फत संस्थाले उपभोक्तालाई गुणस्तरीय र स्वास्थ्यमैत्री खाद्य सामग्री उपलब्ध गराउने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
यस फुड बैंकको मुख्य आकर्षण भनेको ओजोन वास (Ozone Wash) प्रविधिको प्रयोग हो। अत्याधुनिक मेसिनमार्फत फलफूल तथा तरकारीमा रहेका विषादीका अवशेष, किटाणु तथा अन्य हानिकारक तत्व हटाउने व्यवस्था गरिएको छ। संस्थाका अनुसार बजारमा पाइने धेरैजसो खाद्य सामग्रीमा रासायनिक प्रयोग बढ्दै गएकाले त्यसको प्रभाव न्यूनीकरण गर्न यस्तो प्रविधि उपयोगी हुने अपेक्षा गरिएको छ।
उक्त प्रविधिबाट प्रशोधन गरिएका खाद्य सामग्रीलाई आर.के.सी.एन.एल सुपर मार्टमार्फत उपभोक्तासम्म पुर्याइनेछ। दैनिक उपभोग्य वस्तुदेखि ताजा फलफूल र तरकारीसम्मलाई ‘ओजोन वास’ प्रक्रिया पार गरेर बिक्री गरिने व्यवस्था मिलाइएको छ, जसले उपभोक्तालाई सुरक्षित खाद्य विकल्प दिने विश्वास लिइएको छ।
राष्ट्रिय कृषि कम्पनी लिमिटेडले देशमा कृषि प्रणालीलाई प्रविधिमैत्री बनाउने, उत्पादनको गुणस्तर सुधार गर्ने र उपभोक्तासम्म सुरक्षित खाद्य सामग्री पुर्याउने उद्देश्यका साथ विभिन्न कार्यक्रम अघि बढाउँदै आएको छ। सोही रणनीतिअन्तर्गत फुड बैंक अवधारणा अघि सारिएको बताइएको छ।
स्थानीय स्तरमै सुरु गरिएको यो पहलले खाद्य सुरक्षा र गुणस्तरका विषयमा नयाँ अभ्यास स्थापित गर्ने अपेक्षा गरिएको छ। कम्पनीले आगामी दिनमा यस्ता सेवा अन्य सहरहरूमा पनि विस्तार गर्ने योजना बनाएको जनाएको छ, जसले समग्र खाद्य प्रणालीमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।