Dhulikhel Eco Banner new

धितोपत्र बोर्ड अध्यक्षका लागि आवेदन खुला, ७ दिनभित्र दरखास्त दिन आह्वान

1.04K
shares

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद नियुक्तिका लागि आवेदन खुलाइएको छ। अध्यक्ष चयनका लागि सरकारले गठन गरेको सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै इच्छुक तथा योग्य व्यक्तिहरूलाई आवेदन दिन आह्वान गरेको हो। यसअघि वैशाख ४ गते तत्कालीन अध्यक्ष सन्तोष श्रेष्ठले पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो।

सूचनाअनुसार अध्यक्ष पदमा आवेदन दिन चाहनेले ७ दिनभित्र अर्थ मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारस्थित समितिको सचिवालयमा आफ्नो व्यक्तिगत विवरण पेश गर्नुपर्नेछ। समितिले तोकिएको समयसीमाभित्र आवश्यक कागजातसहित आवेदन दिन आग्रह गरेको छ।

योग्यताका हकमा मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरेको हुनु अनिवार्य छ। साथै धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक तथा वित्तीय क्षेत्र, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्षको कार्यअनुभव भएको हुनुपर्ने प्रावधान राखिएको छ। उमेरको हदमा ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरिएको छ।

त्यसैगरी, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागुऔषध कारोबारलगायतका गम्भीर फौजदारी कसुरमा दोषी ठहर भएका व्यक्तिहरू अध्यक्ष पदका लागि अयोग्य हुने स्पष्ट गरिएको छ। नयाँ नेतृत्व चयनसँगै धितोपत्र बजारमा सुधार, पारदर्शिता र नीतिगत स्थायित्वको अपेक्षा गरिएको छ।