काठमाडौं उपत्यकामा २४ घण्टामा २,७४६ सवारी चालक कारबाहीमा, २९ लाखभन्दा बढी राजस्व संकलन
वि.सं.२०८३ वैशाख १५ मंगलवार १६:५३
shares

काठमाडौं, १५ वैशाख । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने २,७४६ जना सवारी चालकलाई कारबाही गरेको छ। ट्राफिक प्रहरीका अनुसार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा गरिएको नियमित चेकजाँचका क्रममा मापसे (मादक पदार्थ सेवन) गरी सवारी चलाउने ७९ जना, राइड सेयरिङ नियम उल्लङ्घन गर्ने २२५ जना, रातो बत्ती उल्लङ्घन गर्ने १७५ जना, तीव्र गतिमा सवारी चलाउने १४८ जना र लेन क्रस गर्ने ३२४ जना चालक कारबाहीमा परेका छन्।
त्यस्तै, फुटपाथमा सवारी चलाउने वा रोक्ने १४९ जना, हर्न निषेधको नियम उल्लङ्घन गर्ने ५५ जना, ओराल्ने र चढाउने नियम नमान्ने ५४ जना तथा अन्य विभिन्न उल्लङ्घन गर्ने १,५३७ जना चालकलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
उनका अनुसार उक्त अवधिमा कारबाहीबाट कुल २९ लाख ६४ हजार ५०१ रुपैयाँ राजस्व संकलन भएको छ। ट्राफिक प्रहरीले मादक पदार्थ वा लागुपदार्थ सेवन गरी सवारी चलाउनु कानुन विपरीत र दण्डनीय अपराध भएको भन्दै सचेत गराएको छ। साथै, चालकले मापसे वा लागुपदार्थ सेवन गरेको शंका लागेमा नजिकको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रुमको हटलाइन १०३ वा प्रहरी हटलाइन १०० मा तुरुन्त जानकारी दिन अनुरोध गरिएको छ।



















