Dhulikhel Eco Banner new

सानिमा इक्विटी फण्ड २ आजदेखि बिक्री खुला

१० वर्षका लागि सर्वसाधारणबाट लगानी संकलन

286
shares

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले आज वैशाख २४ गतेदेखि “सानिमा इक्विटी फण्ड २” नामक बन्दमुखी म्युचुअल फण्ड योजना निष्काशन तथा बिक्री खुला गरेको छ । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो योजना १० वर्ष अवधिको रहनेछ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १० करोड इकाई बिक्रीमा ल्याएको हो । यसअनुसार योजनाको कुल आकार एक अर्ब रुपैयाँ बराबरको रहेको छ ।

निष्काशन गरिने कुल इकाईमध्ये न्यूनतम १ करोड ३० लाख इकाई अर्थात १३ प्रतिशत इकाई कोष प्रवर्द्धक सानिमा बैंक लिमिटेडका लागि सुरक्षित गरिएको छ । त्यस्तै, २० लाख इकाई अर्थात २ प्रतिशत इकाई योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताले खरिद गर्न सक्ने व्यवस्था गरिएको छ ।

फण्डमा आवेदन दिने अवधि वैशाख २९ गतेसम्म तोकिएको छ । सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ ७ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् ।

यस योजनामा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित ‘मेरो सेयर’ प्रणाली प्रयोग गरेर अनलाइनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

उक्त फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

फण्ड निष्काशनका लागि गरिएको रेटिङमा क्रेडिट रेटिङ संस्था केयर रेटिङ्स नेपालले कोष प्रवर्द्धकलाई “केयर एनपी सिंगल ए माइनस” इस्यूअर रेटिङ प्रदान गरेको छ । त्यस्तै, इक्रा नेपालले योजना व्यवस्थापकलाई “इक्राएनपी एएमसी क्वालिटी थ्री प्लस” रेटिङ दिएको जनाएको छ ।