Dhulikhel Eco Banner new

समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक गर्न थालियो, ऋण नतिरे कानुनी कारबाही हुने

247
shares

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित सहकारी संस्थाका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्ने प्रक्रिया सुरु गरेको छ । सहकारी क्षेत्रमा देखिएको गम्भीर वित्तीय संकट र बचतकर्ताको रकम फिर्ता गर्न बढ्दो दबाबबीच समितिले बुधबार पहिलो चरणमा १० वटा सहकारी संस्थासँग सम्बन्धित ठूला ऋणीहरूको विवरण सार्वजनिक गरेको हो ।

समितिले जारी गरेको सूचनाअनुसार सार्वजनिक गरिएका ऋणीहरूले तत्काल समितिको कार्यालयमा सम्पर्क गरी बक्यौता ऋण चुक्ता गर्नुपर्नेछ । अन्यथा कानुन बमोजिम असुलउपर तथा थप कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।

समितिले अन्य समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम पनि क्रमशः सार्वजनिक गरिने जनाएको छ । साथै, नाम सार्वजनिक हुन बाँकी रहेका अन्य ऋणीहरूलाई समेत ढिलाइ नगरी समितिको सम्पर्कमा आउन र ऋण भुक्तानी प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ ।

बुधबार सार्वजनिक गरिएको सूचीमा घेदुङ बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था, आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था, तुलसी बहुउद्देश्यीय सहकारी संस्था, नेपाल वित्तीय सहकारी संस्था, ओरियन्टल कोअपरेटिभ सहकारी संस्था, गौतमश्री सहकारी संस्था तथा नेपाल सहकारी वित्तीय संस्थाका ठूला ऋणीहरू समावेश रहेका छन् ।

पछिल्लो समय सहकारी संस्थामा बचतकर्ताको अर्बौं रुपैयाँ फसेपछि सरकारमाथि दोषीलाई कारबाही गर्न दबाब बढ्दै गएको छ । कतिपय सहकारीका सञ्चालक तथा ठूला ऋणी सम्पर्कविहीन भएको, ऋण असुली प्रक्रिया सुस्त बनेको र बचतकर्ताले रकम फिर्ता नपाएको गुनासो बढिरहेका बेला समितिको यो कदमलाई सहकारी क्षेत्रप्रति कडाइको संकेतका रूपमा हेरिएको छ ।

सहकारी विज्ञहरूका अनुसार ठूला ऋणीको नाम सार्वजनिक गर्ने निर्णयले ऋण असुली प्रक्रियामा केही दबाब सिर्जना गर्न सक्छ । तर, दीर्घकालीन समाधानका लागि सहकारी अनुगमन, पारदर्शिता र नियमन प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ ।

ktm voice